काठमाडौं– स्पेनिस लिग ला लिगामा आज एकै दिन ४ वटा खेल हुँदैछ। आज हुने पहिलो खेलमा ग्रानाडाले लेभान्टेसँग भिड्दै छ। खेल ग्रानाडाको घरेलु मैदानमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे हुनेछ।
ग्रानाडा तालिकाको १६औ स्थानमा रहेको छ। उसको ३१ खेलबाट २९ अंक रहेको छ भने लेभान्टे रेलिगेसनमा छ। ३१ खेल खेल्दा २२ अंक मात्र जोडेको लेभान्टे तालिकाको पुच्छरमा रहेको छ।
त्यस्तै दोस्रो खेलमा एथ्लेटिको मड्रिडले इस्पानियोलसँग खेल्दै छ। एथ्लेटिकोको मैदानमा हुने खेल बेलुका ८ बजे सुरु हुनेछ।। ३१ खेल खेलेको एथ्लेटिकोको ५७ अंकका साथ चौथो स्थानमा छ भने समान खेल खेलेर ३९ अंक जोड्दै इस्पानियोल ११औ स्थानमा रहेको छ।
तेस्रो खेलमा घरेलु टिम एथ्लेटिको बिल्बाओले सेल्टा डे भिगोसँग खेल्दै छ। खेल बेलुका १०ः१५ मा सुरु हुनेछ। बिल्बाओ ३१ खेलमा ४५ अंक जोड्दै ८औ स्थानमा छ भने समान खेल खेलेको सेल्टा ३६ अंकका साथ तालिकाको १२औ स्थानमा रहेको छ।
आजको अन्तिम खेल लिग लिडर रियल मड्रिड र सेभियाबिच सेभियाको घरेलु मैदानमा राति पौने १ मा हुनेछ। रियल तेस्रो स्थानको सेभिया भन्दा १२ अंकले अगाडि छ। त्यसैले रियलमाथि कुनै दबाब भने छैन तर अब बाँकी ३ खेल जिते रियल च्याम्पियन बन्ने छ। त्यसैले रियल छिटो लिग आफ्नो पोल्टामा पार्न चाहन्छ। आजको खेल जिते सेभिया बार्सिलोनालाई पछि पार्दै तालिकाको दोस्रो स्थानमा उक्लिने छ।