काठमाडौं- वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलबीच सहमति हुन सकेको छैन। सहमति हुन नसक्दा गठबन्धन आवद्ध दलहरू एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन्।
चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ-आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो।
केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलर अनुसार जिल्लामा पनि सत्तासिन दलले गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले बताए।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ।
डोल्पाका ठूलीभेरी, त्रिपुरासुन्दरी, उपल्लो डोल्पामा काइके, छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो नेकपा एमालले जितेको थियो। त्यस्तै तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो।
केही समयअघि डोल्पोबुद्ध गाउँपालिकाका बहुमत वडाध्यक्षसहित गाउँपालिकाका अध्यक्षले माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले स्थानीय तह जित्नेको संख्या बढेको थियो।
कांग्रेसले कुनै पनि स्थानीय तह जितेको थिएन। अहिले एमालेबाट फुटेर निर्माण भएको समाजवादीले एमालेकै हिस्सा माग्दा सहमति नभएको शाहीले बताए। नेपाली कांग्रेसले कतै पनि भाग नपाउने भएपछि सहमति हुन नसकेको कांग्रेसको भनाइ छ।
प्रदेशमा आफूहरुले एक्लाएक्लै लड्ने सहमति गरेर पत्र पठाएको सभापती शाहीले जानकारी दिए।
डोल्पामा समाजवादी बलियो भएकाले माओवादी केन्द्र र नेपाली कांग्रेसले ठूलीभेरीमा प्रमुख दिनु पर्ने र अन्य स्थानीयतहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाट हुनुपर्ने समाजवादीका अध्यक्ष नन्दसिंह बुढाले बताए।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाई सहज हुने एमालेका एक नेताले बताए। जनमतसमेत भएको र २०७४ मा एमालेले जितेका सबै क्षेत्रमा समाजवादीले माग गरेको र जता एमाले बलियो छ त्यहाँ माओवादी केन्द्रलाई दिने र जहाँ एमाले कम्जोर छ त्यहाँ आफू लड्ने समाजवादीको अडानले गर्दा बैठकबाट बाहिरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज रामलाल विकले जानकारी दिए।
उनका अनुसार सबै क्षेत्रमा छोडेर बस्न नसक्ने भन्दै गठबन्धनबाट बाहिरिएको र अब स्थानीय तहको निर्वाचनको मिति समेत नजिकिएकोले एक्ला एक्लै लड्नुपर्ने अबस्था आएको छ। तर, यसले गठबन्धन नै टुटी नसकेको र छलफल जारी रहेको उनले बताए।
स्थानीय तहको निर्वाचनमा कुनै पनि तहमा कुनै पनि पदमा सहमति नभएकोले डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो। गठबन्धन नहुने भएपछि एमालेले भने उम्मेद्वारमा समेत फेरबदल गर्ने संकेत देखिएको छ।