काठमाडौं– विश्व स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च पदकबाट नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभूषित गरेको छ।
स्काउटको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ ले सुशोभित गरिएको हो। बिहीबार काठमाडौंमा आयोजित एक विशेष सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई ‘मेधावी योगदान’ उच्च पदकबाट विभूषित गरिएको हो।
विशेष सुशोभन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको हितमा युवा स्वयमसेवक परिचालनको निर्धारण गरी नेपाल स्काउटको विकासमा योगदान गरेकाले सम्मान गरिएको बताइन्। उनले मुलुक समृद्ध नेपाल सुखी नेपाली अभियानमा सक्रिय रुपमा लागेकाले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा स्काउटरहरुले महात्वपूर्ण योगदान पु¥याउन जरुरी रहेको बताइन्। राष्ट्रपति भण्डारीले नेपाली युवा र बालबालिकाहरुलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी नागरिक बढाउनको लागि विशेष कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्नु नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने अपेक्षा लिएको बताइन्।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्काउटलाई अगाडि बढाउनको लागि हैसला र प्रेरणा दिने काममा अरुलाई पनि प्रोत्साहन मिलोस् भन्नको लागि ‘मेधावी योगदान’उच्च पदक ग्रहण गरेको बताए। उनले विद्यार्थी जीवन देखि जीवन अनुशासित कर्तव्य परायन र मानविय भावना सहितको विश्वका मानव जातीका लागि सुन्दर समाज आवश्यक रहेको बताए।
प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको हो। विश्व स्काउटको यो तहको पदकबाट विभूषित हुने ओली पहिलो नेपाली हुन् भने विश्वमा हालसम्म ११ जना यो पदकबाट विभूषित भएका छन्।