काठमाडौं- बैशाख ६ र ७ गते देशभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइने भएको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए' ' क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने जानकारी दिएको छ। सोही दिन ६ देखि २३ महिनासम्मका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा दिइने महाशाखाले जनाएको छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन 'ए' क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण कार्यक्रम हुँदै आएको छ।
वर्षमा २ पटक हुने यस कार्यक्रमअन्तर्गत २७ लाख बालबालिकाले भिटामिन 'ए' क्याप्सुल पाउनेछन्। साथै ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै आएको छ। भिटामिन 'ए' कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन्।
६ महिनादेखि ५ वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन 'ए' खुवाउन सुरु गरिएको हो। बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो।