काठमाडौं- सुनसरीको दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवान बुधबार अपरान्ह घाइते भएका थिए। दुर्घटनामा परेर घाइते प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा१क ८८१७ नम्बरको ट्रकले को३६प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
ट्रकले प्रहरी सहायक निरीक्षक सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका हवल्दार मण्डलको उपचारका क्रममा विराटनगरको आर्या न्यूरो अस्पतालमा बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।