काठमाडौं– जयबागेश्वरीको ओरालो छिचोलेर पशुपति पुग्नै लाग्दा गेट नजिकै एक वृद्धलाई जडिबुटी बेच्दै गरेको देख्न सकिन्छ। सँगै उनले स्वीटरहरू पनि बुनिरहेका हुन्छन्। ग्राहक आएपछि उनी जडिबुटीको महत्वबारे बुझाउँछन्। ग्राहक नहुँदा उनका हात कुरुशले स्वीटरका सिक्री बुन्न व्यस्त हुन्छन्।
जडिबुटी हिमाली जिल्लामा पाइन्छ। उनले बेच्ने जडिबुटी हर्रो (खोकीको औषधी), रातो गुजरगानो (पायल्स रोगको लागि), बोझो (खोकीको औषधी), विरेनुन–हजम (पेट फुलेको), माझी फल (टन्सिल), जेठी मधु (स्वर बसेको निको पार्ने औषधी), फिटकिरी (स्वास गन्हाउने समस्याबाट छुटकारा पाउने), यार्सागुम्बा, रातीगेडी (आँखामा धुलो परेको ठिक पार्ने), केशर (शरीरमा शक्ति बढाउने), शिलाजित (वाथ रोग निको पार्ने), भेडाको घिउ (चोटपटकबाट लागेका पुराना खत हटाउने), जडिबुटीको तेलहरू (पिनास र वाथ रोग आदिको लागि) आदि बेचिरहेका हुन्छन्।
कालीबहादुर वर्षमा एक पटक जुम्ला पुग्छन्। त्यहाँ उनले यी विभिन्न जडिबुटी संकलन गर्छन्। र, त्यसपछिका चार महिना उनले त्यही पशुपति छेउको सडकमा बेच्छन्। विगत दश वर्षदेखि उनी यही कर्ममा छन्। कालीबहादुर जस्तै उनका अन्य दुई साथी पनि यही काम गरिरहेका छन्। उनले आफूहरूले माघदेखि वैशाखसम्म सडकमा यसरी जडिबुटी बेच्दा एक लाखदेखि चार लाखसम्म आम्दानी गर्ने गरेको बताए। बर्खा लागेपछि उनी खेतीपातीका लागि गाउँ फर्किने गर्छन्।
हुम्लामा जन्मिएका कालीबहादुर ६४ वर्षका भए। उनी अहिले परिवारसहित सुर्खेतमा बसाइँ सरेका छन्। जाडो महिनामा हुम्लामा हिउँ परेरपछि खेतीपातीले राम्रो आम्दानी दिँदैन। खेतीबाट परिवार पाल्न धौ–धौ हुन थालेपछि उनले आम्दानीको वैकल्पिक स्रोत खोज्न थाले। उनले गाउँमा बाहिरी जिल्लाका मानिस जडिबुटी किन्न आउने गरेको देखेका थिए। त्यसपछि कालीबहादुरलाई पनि आफ्नै गाउँ–पाखामा पाइने जडीबुटी बेचेर आम्दानी गर्ने सोच पलायो।
उनलाई काठमाडौं एक्लै आउने हिम्मत जुटेन। गाउँका अन्य दुई जनासँग सल्लाह गरे। तीनै जनालाई कमाइ राम्रो हुने र राम्रोसँग घर व्यवहार चलाउन सकिन्छ भन्ने लाग्यो। र, उनीहरू गाउँमा जडिबुटी संकलन गर्न थाले। उनीहरू जटिबुडी संकलन गरेर काठमाडौं त आइपुगे तर कहाँ बेच्ने पत्तो थिएन। उनीहरूले चाबहिलमा एउटा कोठा बहालमा लिए। केही दिन उनीहरूका कसरी व्यापार गर्ने भन्ने सोचमै विते। उनीहरूले सटर राखेरै व्यापार गर्नुपर्छ भन्ने सल्लाह पनि गरे। तर, बर्खामा खेतिका लागि घर जानुपर्ने भएकाले काठमाडौंमा सटरको महँगो भाडा तिरेर व्यापार गर्ने हिम्मत उनीहरूमा जुटेन। र, जडिबुटी व्यापारका लागि पहिलो रोजाइ बन्यो सडक पेटी।
‘भाडा पनि नपर्ने। नयाँ–नयाँ मानिसको ओहोरदोहोर पनि भइरहने भएकाले हामीले सडकलाई व्यापारका लागि रोजेका हौं। काम गर्दै गयौं। ग्राहकले जडिबुटी किन्दै गए। राम्रो आम्दानी हुन थाल्यो। अहिले हामीले यही पेसालाई निरन्तरता दिएका छौं,’ उनी भन्छन्।
उनले कहिले दिनकै दश हजारसम्मको सामान बेचेका छन्। तर कहिले भने कालीबहादुरलाई दिनको दुई सयको सामान बेच्न पनि मुस्किल हुन्छ। ‘जब व्यापार हुँदैन घरबाट टाढा आएर दुःख गरेको केही अर्थ भएन जस्तो लाग्छ। डेराको सामान लिएर कहिल्यै नफर्किने गरेर घर जान मन लाग्छ,’ उनी भन्छन्।
चर्को घाम, दर्के झरीको परवाह नगरी व्यापार गर्नुपर्छ। सडकको धुलो खानुपर्छ। सवारीबाट निस्किने धुवाँ खानुपर्छ। सडकमा व्यापार गर्न निकै गाह्रो छ। तर, पनि जीवन धान्नका लागि केही न केही त गर्नैपर्ने उनी बताउँछन् तर्क छ। कतिपय मानिस त आफ्नो रोग निको भएर पुनः खोज्दै आउँदा भने उनी खुशी हुन्छन्।
‘तपाईंको जडिबुटीले त मलाई राम्रो गर्यो नि। फेरि पनि मलाई जडिबुटी दिनुस् न भनेर केही मानिस खोज्दै आउनु हुन्छ। त्यस्तो अवस्थामा भने खुशी लाग्छ। घाम र पानीको परवाह नगरेर गरेको व्यापारले मानिसको जीवन रक्षा गरे छ झैं लाग्छ। र, आफ्नो जिवीकोपार्जन पनि भइरहेको छ,’ नेपाल समयसँग कुरा गर्दै उनले भने।
कालीबहादुर वर्षमा एक पटक जुम्ला पुग्छन्। त्यहाँ उनले यी विभिन्न जडिबुटी संकलन गर्छन्। र, त्यसपछिका चार महिना उनले त्यही पशुपति छेउको सडकमा बेच्छन्। विगत दश वर्षदेखि उनी यही कर्ममा छन्। कालीबहादुर जस्तै उनका अन्य दुई साथी पनि यही काम गरिरहेका छन्।
उनले हुम्ला जुम्लाबाट संकलन गरेर ल्याएका पुराना सिक्का र नोटहरू पनि बेच्न राखेका छन्। बूढापाकाले जतनले राखेका यस्ता पैसालाई साटेर ल्याउने गरेको उनी बताउँछन्। चाँदीका सिक्का, तक्मा, हनुमाने पैसा, देवीदेवताका तस्बिर कुँदिएका पैसा, पुराना एक पैसा, चार पैसा आदि पनि बेच्न राखिएका छन्। दुर्लभ सामानलाई बेचेर आम्दानी गर्नु नै उनको पेसा हो। उनले सालीग्राम पनि बेच्न राखेका छन्। काली गण्डकीको किनारमा मात्र पाइने सालीग्राम उनी आफैंले संकलन गरेर ल्याउँछन्। र, बेच्नको लागि राख्छन्।
उनलाई एउटा सुइटर बुन्न ६–७ दिन लाग्छ। त्यसलाई उनी साइजअनुसार २५ सयदेखि चार हजारसम्ममा विक्री गर्छन्। ‘जुम्लाबाट २ सय ५० रुपैयाँ प्रतिकिलो ऊन किनेर ल्याउँछु। तीन वटा स्विटर तयार हुन दुई किलो ऊन चाहिन्छ। स्वीटरको राम्रो व्यापार भयो भने आम्दानी पनि राम्रै हुन्छ,’ उनी भन्छन्। कतिपय ग्राहकहरुलाई कुन जडिबुटी कुन रोग वा समस्याको लागि प्रयोग गर्ने थाहा हुँदैन। उनी जडिबुटी प्रयोग गर्ने तरिका समेत सिकाउँछन्।
कालीबहादुरले कुरुश चलाउन बाजेबाट सिकेका हुन्। ‘जुम्लामा सधँै चिसो हुन्छ। सामान्य कपडाले चिसोबाट मानिसलाई जोगाउन सक्दैन। बाजेले घरमै ऊनबाट लुगा तयार गर्नुहुन्थ्यो। र, मैले पनि उहाँबाटै सिकेँ,’ उनले भने। पहिले कपडा किन्न सक्ने क्षमता निम्न वर्गीय परिवारमा नहुने उनले बताए। कपडा किन्न पर्यो भने पनि हुम्ला, जुम्लावासीले नेपालगञ्ज तथा अन्य तराईका सहरमा पुग्नुपर्थ्यो। त्यसैले पनि हुम्लावासीले घरमै ऊनका लुगा बुन्ने गरेको उनी बताउँछन्।
फुर्सदको समयमा उनलाई पारम्परिक ढाँचामा कपडा बुन्न मन लाग्छ। कपडा बुनेर उनको समयको सदुपयोग र आम्दानी दुबै भइरहेको छ।
‘पहिले हुनेखाने खच्चडलाई भारी बोकाएर तराईबाट सामान लिएर जान्थे। घाँटीमा घण्टी बाँधेको खच्चरको लस्कर उकालो लागेको सम्झँदा अहिले पनि बालापनमा फर्किएको जस्तो लाग्छ। तर, हाम्रो घरको अवस्था खच्चड पाल्न सक्ने थिएन। घरमा नभई नहुने सामान नुन, तेल, लत्ता–कपडा लिनलाई बाह्र दिनको बाटो हिँडेर नेपालगञ्ज पुग्नुपर्थ्यो,’ कालीबहादुरले भने। नुनको भारी बोकेर धेरै दिनको बाटो हिँड्दा दुःख भए पनि सहर हेर्नको लागि कालीबहादुर पनि सानोमा नेपालगञ्ज पुगेका थिए। उनलाई अहिले आफ्नो बालअतित सम्झिना निकै प्रिय लाग्छ।
घरघरमै भेडा पाल्ने भएकोले जुम्लामा भेडाको ऊन सजिलै पाइन्थ्यो। ‘ऊनबाट बनेको कपडा न्यानो हुने भए पनि बिझाउने भएकाले भित्रि कपडा लगाएर मात्र लगाउनुपर्छ। तराईबाट थानमै कपडा ल्याउथ्यौं। त्यसैबाट भित्रि कपडा तयार पाथ्र्यो,’ उनी विगतलाई सम्झन्छन्। उनले गाउँको लोकल मुगाको माला पनि बेच्न राखेका छन्। एक तोला सक्कली मुगा चालिसदेखि पचास हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनले बताए। उनले बेच्ने मुगा एक मालाको ६ हजारदेखि सात हजारसम्म पर्छ। त्यो पूर्ण सक्कली भने होइन।
कालीबहादुरले विद्यालयमा पढ्न पाएनन्। ‘अहिले विद्यालय गाउँमा पुगिसक्थो तर हाम्रो पालामा विद्यालय कस्तो हुन्छ पनि देख्न पाइएन,’ उनले भने। बिहानदेखि बेलुकीसम्मै भेडी गोठमा भेडाको गोठाला गएर उनको दिन बित्थ्यो गाउँमा एक हजारसम्म भेडा पाल्ने गरिन्थ्यो। भेडी हेर्ने गोठाला राख्ने गरेका पनि हुन्थे। उनको भेडी गोठमा डेढ सयभन्दा बढी भेडा हुन्थे। पचासभन्दा बढी दूध दिने भेडीको दिनको दश लिटरभन्दा बढी दुध हुने गथ्र्यो। ती भेडाको रेखदेख तीन भाइले गर्थे। उनीहरूले दुधको घिउ बनाएर औषधीको रुपमा पहिले देखिनै बेच्ने गरेका थिए।
‘जुम्लामा आवश्यकता अनुसारको स्वास्थ्य उपचार सेवा अहिलेसम्म पनि पर्याप्त मात्रामा छैन। सामान्य अवस्थाका रोगहरूलाई जडिबुटीले नै निको पार्ने गरिन्छ,’ उनी भन्छन्। सानोमा आफू बिरामी हुँदा पनि जडिबुटीले नै ठिक हुने गरेको उनले बताए। मेडिकलको औषधीले तत्कालको रोगलाई निको पारे पनि दीर्घकालीन असर गर्ने उनी बताउँछन्। जडिबुटीले भने शरीरमा कुनै असर नगर्ने उनको भनाइ छ।
‘विदेशबाट ल्याएको औषधी महँगोमा किन्नु पर्ने बाध्यता हटाउन हिमालमा पाइने जडिबुटीको प्रशोधन नेपालमा नै गर्न सिक्नुपर्छ,’ उनी भन्छन्, ‘यहीँको जडिबुटी सस्तोमा किनेर विदेशीले फेरी नेपाललाई महँगोमा बेच्छन्।’ आफ्नो ठाँउको जडिबुटी सकेजति आफैले बेच्ने र बाँकी मात्र बाहिरी मान्छेलाई बेच्ने उदेश्यले आफू काठमाडौं आएको उनले बताए। जीवनमा सकुन्जेल हुम्ला–जुम्लाको जडिबुटीलाई काठमाडौंमा पुर्याएर मानिसको स्वास्थ्यमा असर नगर्ने जडिबुटी बेचिरहने उनी बताउँछन्।