विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन्। गठबन्धन सरकारलाई परमादेशीको संज्ञा दिएका उनले परमादेशी सरकारले देशको आर्थिक अवस्थालाई श्रीलंकाको जस्तो बनाउने काम गरेको आरोप लगाएका हुन्।
पूर्वप्रधानमन्त्री समेतरहेका ओलीले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको बताए। बुधबार विराटनगर महानगर कमिटीले पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचन गर्न नचाहने षड्यन्त्रकारीहरूलाई सबैले परास्त गर्नुपर्ने बताए।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेले गर्दा वृद्ववृद्वाले भत्ता पाइरहेको दावी गरे। उनले भने, ‘महिनाको एक सयबाट शुरू भएको भत्ता दैनिक एकसय भन्दा बढी भएको छ।’ उनले हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, सयौं पुलहरू एमालेले अघि बढाएको बताए।