काठमाडौं- अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको प्रधान सम्पादकमा पत्रकार हरिबहादुर थापा नियुक्त भएका छन्।
कान्तिपुर व्यवस्थापनको हस्तक्षेपछि प्रधानसम्पादक सुधीर शर्मासँगै सम्पादक हरिबहादुर थापा पनि तीन साताअघि कान्तिपुरबाट बाहिरिएका थिए । कान्तिपुरको स्थापनाकालदेखि नै न्युज रुममा क्रियाशील थापाले साढे दुई दशकभन्दा बढी समय कान्तिपुरमा काम गरेका थिए । न्युज रुमको प्रभावकारी परिचालन तथा खोज पत्रकारितामा विशेष दख्खल भएका थापाको नेतृत्वमा अन्नपूर्ण पोस्टले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यवस्थापनले लिएको छ ।
थापाको प्रवेशसँगै अन्नपूर्ण पोस्टका सम्पादक राजाराम गौतम बाहिरिएका छन् । वरिष्ठ पत्रकार युवराज घिमिरे प्रधान सम्पादकबाट हटेपछि एक वर्षअघि गौतम सम्पादक भएका थिए । तर, गौतमको भूमिकाबाट व्यवस्थापन सन्तुष्ट हुन सकेको थिएन । थापा नियुक्त भएको खबर आउनासाथ गौतमले आफू अलग हुने जानकारी मंगलबार नै न्यूज रुमलाई गराएका थिए ।
अन्नपूर्ण पोस्ट व्यवस्थापनले मंगलबार नै थापालाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरे पनि त्यसको औपचारिक जानकारी बुधबार एक समारोह गरेर घोषणा गर्ने तयारी छ ।
भ्रष्टाचार तथा सुशासनका मुद्दामा विशेष रुपमा कलम चलाउँदै आएका थापाले अख्तियार दुरुपयोग र भ्रष्टाचारसम्बन्धी विभिन्न पुस्तक लेखेका छन् ।
केही समयअघि मात्र उनले नेपालका राजनीतिक दल, अदालत र अख्तियारभित्र हुने गरेका भ्रष्टाचारको फेहरिस्त समेटिएको थापाको पुस्तक ‘रजगज’ सार्वजनिक भएको थियो । त्यसैगरी उनले भ्रष्टाचारको शल्यक्रिया, दलीय द्वन्द्व, विदेशी सहायताका विसंगति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्रलगायत पुस्तक बजारमा ल्याइसकेका छन् ।
थापाको प्रवेशसँगै अन्नपूर्णको न्युज रुममा व्यापक फेरबदलको सम्भावना छ । विकास थापालाई अनलाइन हेर्ने जिम्मा दिइँदैछ । त्यसैगरी अरु ब्युरोमा पनि परिवर्तनको तयारी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४