काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले दुर्इ तिहाइ त्रास देखाउँदै कम्युनिस्ट सरकार अधिनायकवादको बाटोमा हिड्न खोजेको आरोप लगाएका छन्। कांग्रेसले मंगलबार आयोजना गरेको देशव्यापी पदर्शन गर्ने क्रममा नेताहरुले सरकारले दुर्इ तिहाइको दम्भलार्इ दुरुपयोग गरे रुँदै सत्ता छोड्नु पर्ने चेतावनीसमेत दिएका छन्।
कांग्रेसले मुल्यवृद्धि नियन्त्रण, डा.गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनको माग गर्दै मंगलबार आयोजना देशव्यापी विरोध कार्यक्रम सम्पन्न गरेको छ।
राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध जुलुसपछि आयोजित सभामा पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहले दुई तिहाइको दम्भ देखाउँदै जनवादी केन्द्रियता लागू गर्न खोज्नु आफ्नै चिहान आफै खन्नु जस्तै भएको बताए।
‘दुई तिहाइको माला जप्दै हिँड्दा अलिक अघि एकजना मन्त्रीले रुँदै सत्ता छोड्नु पर्यो’, सिंहले भने, ‘जनताको अधिकार खोस्दै जान थालेमा बाँकी सबै मन्त्रीले त्यसरी नै रोएर सत्ता छोड्नु पर्ला।’
उनले भने, ‘कांग्रेस दुब्लाउनु र कम्युनिष्ट बोकाहरु मोटाउनु एउटै हुन सक्दैन। नेकपाका नेताले राम्ररी बुझ्नु पर्यो निर्वाचनमा स्थिरता र समृद्धि भने पनि अहिले अस्थिरता निम्त्याउने र समृद्धिकोबिरुद्ध सरकार नै लागेको छ।’ भीसीलाई एयरपोर्टबाट तानेर प्रम निवासमा थुन्ने र डाक्टरलाई अस्पतालबाट अपरहण गरेर गृहमन्त्रालय ल्याउने कार्यले सरकारको अधिनायकवादी चरित्र छताछुल्ल भएको छ।
दुई हिताई हुँदैमा जनताले विश्वास नगरेपछि सत्तामा बस्न सकिँदैन भन्ने कुरा ७७ जिल्लामै मंगलबार कांग्रेसले गरेको विरोध र्यालीले देखाइसकेको सिंहले दाबी गरे।
यसैगरी, पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई कांग्रेसले दिएको समर्थन र सहयोगलाई कमजोरीको रुपमा हेरेको भन्दै दुई तिहाइएको दम्भ र अहंकारले वर्तमान सरकार पतनको बाटोमा अघि बढेको आरोप लगाए।
'दम्भको श्रीपेच किन लगाउनु पर्यो?'
झापाको चन्द्रगढीस्थित रंगाशाल खेलमैदानमा आयोजित विरोधसभामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको विरोधसभामा पाँच लाख बढीको सक्रिय सहभागीता रहेको दाबी गरे। उनले माईतिघर मण्डला सानो ठाउँ भएकोल कांग्रेसले सोही ठाउँ रोजेको भनेर खिसी गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै गृह जिल्ला झापामा भएको सभालाई हेरे पुग्नेसमेत बताए।
इतिहासमा वीपीपछि लोकतन्त्रकै जगबाट दुई तिहाइ बहुमत प्राप्त सरकारको प्रधानमन्त्री भएका ओलीले समृद्धिको नारा जपे पनि झापाली जनताले मल नपाएर छटपटाउनु परेको बताए। इतिहासमै पहिलो पटक कांग्रेसले ओली सरकारको नीति तथा कार्यक्रमलाई मौन बसेर समर्थन गरेको घटनालाई सरकारले कमजोरी सम्झीए गम्भीर भूल हुने टिप्पणी गरे।
‘प्रधानमन्त्रीलाई सामान्य बहुमत थियो, त्यसले पुगेन दुई तिहाई भन्दा बढीको बहुमत चाहियो’ प्रवक्ता शर्माले भने ‘त्यसले नपुगेर दम्भको श्रीपेच किन लगाउनु पर्यो?’ शर्माले कांग्रेसको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट प्रदेश सांसदले सपथ खाँदैनन भन्ने ओलीले के बरमझियाको पेडा पशलेले सपथ खुवाउने? योजना बनाएका हुन भनी प्रश्न गरे?
'युरोपियन कम्युनिस्ट बने ध्वस्त हुने'
यूवा नेता चन्द्र भण्डारीले चितवनमा बिरोध र्यालीपछि आयोजित सभालाई संवोधन गर्दै ठेक्का लिने तर काम नगर्ने ठेकेदारलाई गृह मन्त्रीले कारबाही गर्न खोज्दा प्रधानमन्त्रीले किन जोगाए? भनी प्रश्न गरे। भण्डारीले भ्रष्टाचारको विगविगी भएको र पैशा नखाई तलदेखि माथिसम्म कम्युनिस्ट सरकारका कसैले पनि काम नगरेको दाबी गरे।
‘चुनाव अघि हे आमाबुबा दाउरा बालेर अँगेनामा बस्ने दिन गए, अब घर घरमा ग्याँस आउँछ भन्ने ओलीज्यू आज कलंकीदेखि नागढुंगासम्मको सडक बन्न सकेको छैन, समृद्धिको भाषण छाँटेका छाँटै छन्।’
उनले पानी जहाज रेल ल्याउँछु भनेर सपना बाँडे पनि पानीजहाज चलाउने ठाउँ र रेल चलाउने सामर्थ्य नेपालीसँग नरहेको बताए। ‘स्वास्थ्य शिक्षाको सुधारको माग गर्दा आज गोली ठोकिँदैछ। मजदुरलाई गोली ठोकिँदैछ’ भण्डारीले भने ‘कम्युनिष्टले देश चलायौ भने काम होला तर युरोपियन कम्युनिस्ट जस्तै भए ध्वस्त हुने छौ।’
उनले केपी ओलीले माईतिघर सानो ठाउँ भएकोले कांग्रेस खुम्चियो भनेर जिस्काएछन्। हेर्नुस यो भेलाले के सन्देश दिन्छ? भनी प्रश्न गरे। ओली सरकारमा नजाँदै भारतीय प्रधानमन्त्रीको दुतको रुपमा शुस्मा स्वराजलाई निमन्त्रणा किन गरियो? भन्ने प्रश्न गर्दै भण्डारीले ओली सत्तामा नहुँदा कांग्रेस भारतको दलाल भनेर आलोचना गरे। तर त्यही भारतको प्रधानमन्त्री हुनासाथ भ्रमण गरेर सुस्ताको कुरा गरेनन्, डुबानको कुरा उठाएनन?’
उनले भुटानको विद्युत उत्पादन गर्दा भुटानीले ५० प्रतिशत शेयर पाए। अरुण तेश्रो २१ प्रतिशत मात्र नेपालीले पाउनु राष्ट्रवाद हो? भनी प्रश्न गरे। उनले कांग्रेस सत्तामा हुँदा अरुण तेश्रो अनुदानमा बनाउँने सम्झौता गर्दै थियो तर एमालेले नदिएका कारण आज भारतलाई दिएको आरोप लगाए।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशानुसार आज श्रावण ७७ जिल्लामा नै व्यापक सहभागिताका साथ विरोध प्रदर्शन सम्पन्न भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
अधिनायकवाद उन्मुख सरकारकाविरुद्धमा भएको प्रदर्शनमा हालसम्म जिल्लाहरुबाट प्राप्त विवरण अनुसार समग्रमा ५ लाख भन्दा बढी पार्टीका नेता, कार्यकर्ता र शुभ चिन्तकहरुको सहभागिता रहेको थियो।
आजको प्रदर्शन खासगरी डा गोविन्द केसी र सरकारबीच भएको सम्झौता अक्षरसः कार्यान्वयन गर्न सरकारलाई दवाव दिने, चर्को मूल्य वृद्धिका विरुद्धको जनभावनालाई प्रकट गर्ने, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनमा दवाव बढाउने, निषेधाज्ञा फिर्ता लिन सरकारलाई खवरदारी गर्ने, उपकूलपतिको अपमानजनक गिरफ्तारीको विरोध गर्ने, बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुको मानमर्दन गर्ने अभिव्यक्तिका बारेमा कारवाहीका लागि दवाव बढाउने लगायतका मुद्दाहरु थिए।
आजको प्रदर्शनले राष्ट्रव्यापी रुपमा नेपाली कांग्रेसले उठाइरहेका मुद्दाहरुमाथि व्यापक जनसमर्थनको पुष्टि गरेको छ। वर्षाको मौसम श्रवाण १५ गतेका दिनमा पनि देशव्यापी रुपमा भएको लाखौंको प्रदर्शनीलाई नजरअन्दाज गर्न सरकार लाग्यो भने, महंगो पर्ने चेतावनी कांग्रेसले दिएको छ।
तस्बिर: विश्वप्रकाश शर्माको ट्वीटबाट
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४