खोटाङ- दश स्थानीय तह रहेको खोटाङ कोभिड-१९ मुक्त जिल्ला बनेको छ। पछिल्लो समय संक्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका दुईजना आइतबार निको भएसँगै खोटाङ संक्रमणमुक्त बनेको हो।
संक्रमण देखिएका दुईसहित २५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सुरु भएयता जिल्लामा तीन हजार पाचँ सय दुई जनामा संक्रमण पुष्टि भएको थियो।
पहिलो र दोस्रो लहरमा गरी संक्रमणबाट १५ जनाको ज्यान जाँदा तेस्रो लहरमा भने कसैको पनि मृत्यु नभएको जनाइएको छ। जिल्लामा हालसम्म एक लाख सात हजार ४२ जनाले पूर्ण र एक लाख २१ हजार ४३० जनाले पहिलो मात्रा खोप लगाएका छन्।
जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित दशवटै स्थानीय तहमा २३४ शय्या उपलब्ध छन्। जिल्लामा एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको जनाइएको छ। तत्कालका लागि जिल्ला कोरोना संक्रमणमुक्त भए पनि जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे पनि जिल्लाका स्थानीय बासिन्दा यसअघिदेखि नै खुलेआम हिँड्डुल तथा व्यापार-व्यवसाय गरिरहेका छन्।