जनकपुरधाम- सरकार गलत बाटोमा अगाडी बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार जनकपुरसहित देशभर विरोध प्रदर्शन गरेको छ। सरकारले अधिनायकवादी एवम जनविरोध क्रियाकलाप गरिरहेको भन्दै विरोध प्रदर्शन गर्दै कांग्रेस सडकमा ओर्लिएको हो।
केपी ओली सरकारले गरेको करवृद्धि फिर्ता, संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख नियुक्त हुनुपर्ने लगायतका माग अघि सार्दै कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।
जनकपुरमा निकालिएको विरोध जुलुसमा ठुलो संख्यामा कांग्रेसका नेता कार्यकर्ता तथा समर्थहरु देखिएका थिए। पिडडिया माईस्थानस्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै कदम चोक, भानु चोक, मिल्स एरियासहित नगरको विभिन्न भाग परिक्रमा गर्दै रामानन्द चोक पुगेर कोणसभामा परिणत भएको थियो।
धनुषाको सदरमुकाम जनकपुरमा भएको विरोध जुलुसमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, नेविसंघ, ट्रेड युनियन, महिला संघसहित गाउँगाउँबाट नेता, कार्यकर्ता तथा समर्थकहरु पुगेका थिए।
कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय नेताहरुले सरकारको अधिनायकवादी चरित्र र संविधान विरोधी क्रियाकलापको विरोध गर्न आफूहरु विरोधमा उतरेको बताए।
चुनावको बेला लोकप्रिय नारा दिनेहरु अहिले सरकारमा पुगेपछि करवृद्धि गरेर जनतालाई सास्ती दिन खोजेको भन्दै उनीहरुले करवृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरे। सभामुख र उपसभामुख एकैदलको रहेपनि चुप लागेर सरकार संविधानको उल्लंघन गरेको उनीहरुले बताए।
कोणसभामा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४