विराटनगर- विराटनगरमा जारी प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि राजविराज र जनकपुर भिड्ने भएका छन्।
विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको वैजनाथपुर खेल मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो।
सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो। १ सय ३८ रनको विशाल रनको लक्ष्य पाएको विराटनगरले १६ दशमलव ३ बलमा सवै विकेट गुमाई ९१ रनमा सिमित भयो।
दोस्रो खेलमा जनकपुरले विरगञ्जमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ बलमा सवै विकेट गुमाई ७६ रनको झिनो स्कोर खडा गरेको थियो। ७७ रनको झिनो लक्ष पछ्याएको विरगञ्जले पुरै ओभर खेल्दै ९ विकेट गुमाई ७३ रनमा सीमित भयो।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउने आयोजकले जनाएको छ।