विराटनगर– देशभर सत्तारुढ पार्टीहरुबीच गठबन्धनको तयारी भइरहेका बेला मोरङमा भने नेपाली कांग्रेसबाहेकको गठबन्धनको तयारी सुरु भएको छ।
जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले कांग्रेसबाहेकको गठबन्धन बनाएर अघि बढ्ने तयारी गरेको नेताहरुले बताएका छन्। माओवादी केन्द्रका नेता गणेश उप्रेतीले कांग्रेसले दम्भ प्रदर्शन थालेका कारण माओवादी, जसपा र एकीकृत समाजवादीसहितको तीन दलीय गठबन्धनको तयारी भएको बताए।
जनता समाजवादीका नेता एवं २०७४ को स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार उमेश यादवले कांग्रेससँग विराटनगरमा गठबन्धन गर्नै नहुने बताउँछन्। नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले कांग्रेसले गठबन्धनको नीति नमान्दा अर्को गठबन्धन स्वाभाविक हुने बताए ।
नेपाली कांग्रेसभित्र पनि तालमेल गर्नु नहुने पक्षमा मत बलियो बन्दै गएको नेताहरुले बताएका छन्। मोरङमा आफ्नो शक्ति बलियो रहेको आंकलनसहित कांग्रेसले धमाधम एकल चुनाव लड्ने घोषणा गरिरहेको छ। यहीक्रममा विराटनगर महानगर समिति र सुनवर्षी नगर समितिले स्थानीय चुनावमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका छन्।
मोरङमा एक महानगर सहित १७ वटा स्थानीय तह छन्। विराटनगर महानगरपालिकासहित कांग्रेसले २०७४ को निर्वाचनमा एक्लै मोरङका ९ वटा स्थानीय तह जितेको थियो। एमालेले पथरी शनिश्चरे र बेलबारी नगरसहित कानेपोखरी गाउँपालिका, ग्रामथान र मिक्लाजुङ गाउँपालिका जितेको थियो। रंगेली नगरमा माओवादीले र जहदा गाउँपालिकामा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादीले जितेको थियो।