बुटवल- प्रदेश स्तरीय दोस्रो स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल संवाद ३.० लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ। बुधबार बुटवल सिटी सेन्टरमा आयोजना भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका करिब २७ स्टार्टअप तथा आइडिया सहभागी थिए।
फेस्टसँगै आयोजना भएको आइडिया पिचिङ, मेन्टरिङ तथा एक्सपिरियन्स शेयरिङमा २० ओटा स्टार्टअप तथा इनोभेटर्स कम्पनीहरूले आफ्नो व्यवसाय तथा आइडिया प्रस्तुत गरेका थिए।
जसमध्ये पाँचओटा कम्पनी तथा आइडियाहरू ईबाइक, फूड अन वेज, श्री सिता बाबा मल्टी टेक, लुम्बिनी स्टेम एजुकेसन र फरिद डटकमको एम सेक्युरिटी इन्क्युबेसन तथा मेन्टरिङका लागि चयन भएका छन्। सो प्रतिस्पर्धामा फरिद डट कमको एम सेक्युरिटी प्रथम भएको छ। प्रथम भएको कम्पनी सात्त्विक न्युट्रिन्ट्सले राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखको ऋण अनुदान प्राप्त गर्नेछ।
सेसनमा बुटवलका टेक उद्यमी तथा योङ माइण्ड्सका एमडी डा. अभिजित गुप्ता, तथा युवा स्टार्टअप व्यवसायी प्रकाश न्यौपानेले प्रदर्शनीमा सहभागी स्टार्टअपहरूलाई मेन्टरसिप प्रदान गरेका थिए।
गण्डकी प्रदेशबाट थालनी भएको प्रदेश स्तरीय संवाद दोस्रो ‘डिजिटल लुम्बिनी संवाद’ पनि सम्पन्न भएको छ।
संवादमा लुम्बिनी प्रदेशको प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष बाम देव शर्मा, देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री, लुम्बिनी प्रदेश सरकारका आइसिटी विज्ञ रेग बहादुर भण्डारी, बुटवलका अग्रणी आइटी व्यक्तित्व दुर्गा प्रसाद पाण्डे र पाइला टेक्नोलोजीका सहसंस्थापक तथा ईडी आयुष कसाजु उपस्थित थिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका मन्त्री टिकाराम शर्मा पनि उपस्थित थिए।