भक्तपुर- पठन संस्कृतिबारे भक्तपुरमा मंगलबार फरक ढंगको बहस भयो। कमलविनायकमा भइरहेको 'आरम्भ पुस्तक प्रदर्शनी २०७८' मा लेखकहरूले पठन संस्कृतिको बदलिँदो प्रवृत्तिमाथि संवाद गरे।
सुरुमै कार्यक्रम 'मोडरेटर' नीरज लवजूले वक्ताहरू योगेन्द्रमान बिजुक्छे, सगुना शाह र अभय श्रेष्ठलाई समान प्रश्न राखे- आजका युवाले के पढिरहेका छन्?
‘सर्वप्रथम पढिरहेको छ वा छैन भन्नेचाहिँ महत्त्वपूर्ण कुरा हो। के राम्रो, के नराम्रो भन्दा पनि पढ्ने बानीको विकास हुनु पहिलो शर्त हो। यसका लागि हामीजस्ता शिक्षक र लेखकले युवाहरूलाई पढ्ने वातावरण सृजना गरिदिने मात्र हो,' सगुना शाहले भनिन्।
अर्का वक्ता योगेन्द्रमान बिजुक्छेले अहिलेका युवाहरू अध्ययनको छोटो बाटो समात्ने होडमा रहेको बताए। ‘किताब पल्टाएकै हुँदैन, पूरै कुरा पढेको छ भन्छन्। सन्दर्भस्रोत त परको कुरा पाठ्यपुस्तक नै पढेको हुँदैन। नोट पढ्दा रहेछन्, गुगल पढ्दा रहेछन्। अवस्था चिन्ताजनक छ,' बिजुक्छेले भने।
कवि अभय श्रेष्ठले भने कसैलाई पनि एकैचोटि गहन साहित्य पढ्न सिफारिस गर्न नहुने बताउँदै भने, ‘सुरुमा सजिलो र रोचक विषय पढ्न दिनुपर्छ। चाहे उसले बजारिया सस्तो कुरा नै किन नपढोस्। जब पढ्ने बानी लाग्छ तब उसलाई गहन कुरा पढ्न प्रेरित गर्नुपर्छ। सुरुमा त पढ्ने बाटो नै देखाउनुपर्छ।’
स्थानीय विषयवस्तुको पठनका विषयमा पनि बहस चल्यो। भक्तपुर नगरपालिकाका स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजकसमेत रहेका योगन्द्रमान बिजुक्छेले विद्यालय तहमा स्थानीय विषयवस्तु समावेश गर्नकै लागि स्थानीय पाठ्यक्रमको अवधारणा आएको बताए। ‘हामीले कक्षा आठसम्म पढेको कुनै पनि विद्यार्थीले भक्तपुरबारे प्रष्ट बुझ्न सकोस् भन्ने उद्देश्यका साथ स्थानीय पाठ्यक्रम बनाएका छौं,' उनले भने, 'अरु स्थानीय तहले पनि आ–आफ्नो भूगोल, संस्कृति, वातावरण र विशेषतालाई ध्यान राखेर स्थानीय पाठ्यक्रम बनाउनुपर्छ। त्यसलाई रुचिपूर्वक पढाउन–बुझाउन सकियो भने पठन संस्कृतिको विकास हुन्छ।’
‘सर्वप्रथम पढिरहेको छ वा छैन भन्नेचाहिँ महत्त्वपूर्ण कुरा हो। के राम्रो, के नराम्रो भन्दा पनि पढ्ने बानीको विकास हुनु पहिलो शर्त हो। यसका लागि हामीजस्ता शिक्षक र लेखकले युवाहरूलाई पढ्ने वातावरण सृजना गरिदिने मात्र हो,' सगुना शाहले भनिन्।
फ्लोरबाट धनेशराज उपाध्यायले पनि सोधे, ‘कुनै कृतिले विचार लादेको जस्तो लाग्यो भने म पढ्न छाड्छु। सर्जकले विचार लाद्न मिल्छ कि मिल्दैन?’
जवाफमा सगुना शाहले प्रश्न गर्ने मानिसलाई समाजले नरुचाउने बताउँदै भनिन्, ‘हामी प्रश्न गर्दैनौं। कसैले भनेको कुरालाई सर्वोपरि मान्छौं। तर तपाईंले पढ्नुभयो, मनन गर्नुभयो भने एकदिन प्रश्न गर्न सक्नुहुन्छ। कसैले–कसैलाई विचार लाद्न मिल्दैन। पढ्दै जाँदा जब यो बेठिक छ भन्ने बुझिन्छ तब प्रश्न उठाउने साहस आउँछ।’
विचारकै कुरा आउँदा अभय श्रेष्ठले मानक मानिएका कृतिले समेत प्रतिगामी विचारलाई स्थापित गर्न खोजेको सन्दर्भ उठाए। कथाकार गुरुप्रसाद मैनालीको उदाहरण दिँदै उनले भने, ‘गुरुप्रसाद राम्रा कथाकार हुन्। तर उनका केही कथामा गम्भीर समस्या छ। उनका केही कथामा विधवा, दलित र महिलालाई होच्याइएको छ। खिसी गरिएको छ। सचेत लेखकले त्यस्तो गर्न मिल्दैन।’
‘बजारिया साहित्य’को बिगबिगी
बहसमा नीरज लवजूले बजारमा आएको कुनै नयाँ पुस्तक पढेन भने साथीहरूको सर्कलमा उभिनसमेत गाह्रो हुने अनुभव सुनाए। विज्ञापनलाई हतियार बनाएर बजारले जबर्जस्ती पुस्तक बिकाउने प्रवृत्ति बढेको विषय उठाए।
लवजूको कुरामा सहमत हुँदै कवि अभय श्रेष्ठले राम्रा साहित्यको चर्चा गर्न नसक्नाले नै बजारिया साहित्य हाबी भएको तर्क गरे। ‘अहिले पनि मलाई गोविन्द गोठालेको कथा पढ्दा काठमाडौंको जीवन फिल्ममा हेरेभन्दा राम्रो लाग्छ। ध्रुवचन्द्रको कथा पढ्दा मधेसको चित्र आउँछ। क्लासिक विश्व साहित्य पढ्दा उत्तिकै ताजा लाग्छ,’ श्रेष्ठले भने, ‘तर बजारभरि नारायण वाग्लेको पुस्तकको होर्डिङ बोर्ड भएपछि युवा त्यसबाट प्रभावित हुने नै भए। बजार हाबी भयो। जुन प्रवृत्ति परिवर्तन हुन आवश्यक छ।’
अर्की वक्ता सगुना साहले भने कुनै पुस्तक बजारमा आउँदैमा तत्काल पढ्नु नपर्ने बताइन्। ‘आज सबैको हातमा एउटै किताब छ भन्दैमा पढ्नैपर्छ भन्ने छैन। आफ्नो समयअनुसार पढ्दा पनि हुन्छ। रुचिअनुसार पढ्दा हुन्छ। मुख्य कुरा विस्तारै पढ्ने र बुझेर पढ्ने हो,' शाहले भनिन्।
योगेन्द्रमान बिजुक्छेले भने कुनै एउटा पुस्तकले जीवनको मोड फेरिन सक्ने दृष्टान्त दिँदै विवेक प्रयोग गरेर पुस्तक छनोट गर्नुपर्ने बताए। ‘सामान्य कथा पढ्दा–पढ्दै पनि मानिस परिवर्तन भएका उदाहरण धेरै छन्। पढ्ने कुरा समय र उमेरअनुसार फरक पर्छ। तर पढ्ने बानी बढ्दै गयो भने के पढ्नुपर्छ भन्ने पाठकले आफैं थाहा पाउँछ। पठनको महत्त्व बुझ्छ।’
तीन दिने पुस्तक प्रदर्शनीमा दशभन्दा बढी प्रकाशन गृहले छुटसहित आफ्ना पुस्तकको स्टल राखेका छन्। प्रदर्शनीको उद्घाटन नेमकिपाका नेता नारायणमान बिजुक्छेले गरेका थिए।