जनकपुरधाम- २५ अषाढमा प्रदेश २ को राजधानी जनकपुरस्थित मुजेलियामा सवारी दुर्घटनामा धनुषाको विदेह नगरपालिका-३ बस्ने १९ वर्षीय जयनाथ साहको ज्यान गयो । ट्रकका सहचालक जयनाथ चढेको मिनी ट्रक सडक छेउमै उभेको गाईको बाछोलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका जयनाथको उपचारको क्रममा मृत्यु हुन पुग्यो ।
जयनाथको दुर्घटना भन्दा केहिदिन पूर्व मोटरसाइकल चढेर कार्यालयतर्फ जाँदै गरेका स्थानीय रतनकुमार कर्ण पनि छाडाचौपायका कारण दुर्घटनामा परे । जनकपुर-८ स्थित रामानन्द चोक सडकमा डुलिरहेको एक गाईले कर्णको मोटरसाइकलमा अचानक ठक्कर दियो । उनी मोटरसाइकल बाट लडे । कर्णको कुट्टामा चोट लाग्यो । र, उनी अझै फिजियोथेरापी गराउन चिकित्सक नजिक धाइरहेका छन् ।
जनकपुरस्थित राराब क्याम्पसमा कार्यरत एक प्राध्यापक मोटरसाइकल चढेर कक्षा लिन जाँदै गर्दा एक सुँगुर पांग्रा अगाडी आउँदा उनी दुर्घटनामा परे । र, उनको पाइतालामा डाक्टरले टाँका नै लगाउनु पर्यो ।
जनकपुरको शहरी क्षेत्रमा छाडाचौपायाको यी घटनाहरु प्रतिनिधि उदाहरण मात्र हुन् । प्रमुख सरोकारबला निकाय जनकपुर उपमहानगरपालिकाले छाडाचौपाया नियन्त्रण गर्नतर्फ ध्यान नदिँदा यस्ता सवारी दुर्घटनाहरु प्रायः हरेक दिन हुने गरेका छन् ।
बाहिरबाट जनकपुर घुम्न आउने पर्यटकहरु समेत मुख्यबजार र जानकी मन्दिर वरपर सडकमा घुमिरहने छाडाचौपाया देखेपछि नाक खुम्चाउने गरेको दृष्य सहजै देख्न सकिन्छ ।
सडकमा छ्याछापी रहने छाडाचौपायका कारण सवारी साधन सञ्चालनका साथै पैदल हिँडडुल गर्न समेत समस्या परि रहेको बेला सरोकारबला निकायले चासो नदेखाएको स्थानीय सुशील कर्ण बताउँछन् ।
छाडाचौपाया र सुँगुरको आतंक मच्चिएको छ कर्ण भन्छन्,'छाडाचौपाया नियन्त्रण गर्न जनप्रतिनिधिहरुको प्रतिवद्धता नारामै सिमित भएको छ । कसैले चासो देखाए जस्तो लागेको छैन्' छाडाचौपायाकै कारण सर्वसाधारण अनाहकमा कष्ट भोग्न वाध्य छन् भने जनकपुरको साख समेत खस्किदैँ गइरहेको उनको भनाइ छ ।
छाडाचौपायाको समस्या व्यवस्थापन गर्न जनकपुर उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पटकपटक निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन् ।
केहिदिन पूर्व प्रहरी खटाएर छाडा गाईवस्तु नियन्त्रण गर्न अभियना चलाएपनि अहिले खासै पहल भएको नदेखिएको गौ-संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले बताए ।
छाडा गाईवस्तु नियन्त्रणमा लिई धनीलाई जरिवाना गर्ने प्रावधान रहेपनि उपमहानगरपालिकाले काञ्जी हाउसलाई व्यवस्थित गर्न नसकेको उनले बताए । काञ्जी हाउसमै गाईको ज्यान जानु उपमहानगरपालिकाको चरम लापारबाही रहेको महासेठको भनाइ छ । केहिदिन अगाडी काञ्जी हाउस भित्रै एक गाईको मरेको घटना सार्वजनिक भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४