काठमाडौं– नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो।
सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो। अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरुको क्यानबेरामा उल्लेख्य बसोबास रहेको छ।
अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरु बस्दै आइरहेका छन्। तर, भारतसँग सीमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए। त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिसबाजी गर्न लागिएको उनले बताए।
‘नेपाली र भारतीयको संस्कार, संस्कृती र चाडपर्वहरु समान छन् र उनीहरुको शारिरिक बनोट पनि लगभग उस्तै हुन्छ। जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ, र हाम्रो आफ्नै पहिचान बन्न सकेको छैन,’ मल्लले भने, ‘त्यसैले नेपाली र भारतीय फरक हुन्। हाम्रो आफ्नै संस्कृति छ, चालचलनहरु छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं।’
दसैं, तिहार, फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवैतिर मनाइन्छ। यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लको अनुभव छ। तर, नयाँ वर्ष भने भारतमा इस्वी संवत् अनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत् अनुसार वैशाखमा मनाउने गरेको छ।
चीन, इरानलगायत छुट्टै क्यालेन्डर मान्ने देशहरुले नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो पृथकता र विविधता अन्तर्राष्ट्रिय वृत्तमा प्रस्तुत गर्दै आएका छन्। त्यसैले, वैशाख १ गते आतिसबाजी गर्दै नेपालीहरुको आफ्नो छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिन लागिएको सनातन समाजले जनाएको छ। आतिसबाजी २०७९ वैशाख १ गते क्यानबेरास्थित लेनक्स गार्डेन्समा गरिने सनातन समाज अस्ट्रेलियाले जानकारी दिएको छ।