शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गाडामुनि छोरी राखेर मकै पोल्ने आमा

गौशालाको पिंगलास्थान पुग्नुभयो भने यो दृश्य अहिले पनि देख्न सक्नुहुन्छ। सानी छोरीलाई गाडामुनि सुताएर मकै पोल्ने आमा हरेक दिन यही ठाउँमा भेटिनेछिन्।
 |  बुधबार, चैत २३, २०७८
nespernesper

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

बुधबार, चैत २३, २०७८

काठमाडौं– थोत्रो गाडामाथि चुलो बनाएर मकै पोल्ने गरिएको छ। दाउराको धुवाँले गाडा वरिपरि बस्न हम्मेहम्मे पर्छ। तर त्यही गाडामुनि कोही सुन्दर सपना देख्दै निदाइरहेको छ। 

triton college

गौशालाको पिंगलास्थान पुग्नुभयो भने यो दृश्य अहिले पनि देख्न सक्नुहुन्छ। सानी छोरीलाई गाडामुनि सुताएर मकै पोल्ने आमा हरेक दिन यही ठाउँमा भेटिनेछिन्।

मकै पोलेर गुजारा चलाउने यी आमा हुन्, शारदा भुजेल। बिहानै तीन बजे निदाइरहेकी छोरी बोकेर गाडासहित तीनकुनेमा हरियो मकै किन्न पुग्छिन् उनी। चार बजे मकै किनेर डेरामा फर्किन्छिन्। छोरीलाई बिहानको खाना खुवाएर विद्यालय पुर्याउँछिन् र बाह्र बजेसम्ममा बाँकी घरधन्दा सिध्याउँछिन्। 

एक बजेपछि छोरीलाई लिएर मकै बेच्न पिंगलास्थान पुग्छिन्। छोरी त्यतैको चौरमा खेलिरहन्छिन्। थकाइ लाग्यो भने आमाकै गाडामुनि आएर सुत्छिन्। 

एक महिनाअघि एकदिन खेलिरहेको ठाउँबाटै शारदाको छोरी हराइन्। ‘मकै बेच्दाबेच्दै छोरी हराई। साँझको बेलामा भ्याइनभ्याइ भइरहेको हुन्छ। खोज्दा कहिँ भेटिएन। राति फुटपाथका सबैजनाले सहयोग गरेर मात्र भेटिई,’ शारदाले सुनाइन्। छोरी हराएको साँझ उनलाई जीवनकै सबैभन्दा आपत् परेको दिन थियो। काठमाडौंको विरानो ठाउँमा उनलाई सहयोग गर्नेसमेत कोही थिएनन्।  

Metro Mart
vianet

काठमाडौंको महँगीमा मकै बेचेर जीवन चलाउन सजिलो छैन। दिनमा ५० देखि ८० घोगासम्म पोलेको मकै बेच्दा पनि कुनै दिन पाँच सय रुपैयाँमात्र नाफा हुन्छ। सहरबजारमा दाउरा पाउन पनि उत्तिकै मुस्किल हुन्छ। ‘फर्निचरमा दाउरा किन्दा दिनको तीन–चार सय खर्च हुन्छ। मकैसँग खाने नुन खोर्सानीको त हिसाब नै छैन,’ उनी आफ्नो समस्या सुनाउँछिन्।

कहिलेकाहीँ दिशापिशाब गर्दा पनि छोरीको कपडा फेर्न पाउँदिनन् शारदाले। छोरीलाई ज्वरो आएको तीन दिन भइसक्दा पनि अस्पताल लान पाइनन्। शारदाले भत्केको पुलमा कोठा लिएकी छिन्। बिजुली, पानी, फोहोरसमेत जोडेर महिनामा ६ हजार रुपैयाँ तिर्नुपर्छ। यो महिनादेखि छोरीलाई स्कुल पठाउन थालेकी छिन्। त्यहाँ पनि महिनाको दुई हजार बुझाउनुपर्छ। ‘एउटा छोरी लिएर बस्दा त यस्तो गाह्रो छ। दुवै छोरी सँगै भएका भए खान पनि पुग्दैनथ्यो होला,’ शारदा मलिन स्वरमा भन्छिन्।

रामेछाप बेतलीमा जन्मिएकी शारदाको विवाह भारतीय नागरिक रोशन अन्सारीसँग दश वर्षअघि भएको थियो। त्यतिबेला गाउँबाट काकासँग काठमाडौं आउँदा उनको भेट रोशनसँग भयो। केही समयपछि उनीहरुले राजीखुसी विवाह गरे। दुई छोरी भए।

तर शारदाको लागि श्रीमान् हुनु र नहुनु एकै अवस्था भएको छ। भारतको बिहार राज्यमा घर भएका श्रीमानले शोषण गर्न थालेपछि उनी एक्लै सानी छोरीसँग बस्दै आएकी छिन्। ‘अंश मागौं भने नेपालमा घर नै छैन। भारत गएर कसरी अंश लिने?’ उनी भन्छिन्, ‘मलाई त नेपालीबाहेक अरु भाषा पनि आउँदैन। कसरी भारत जान सक्नु!’ 

बिहे गरेको केही वर्षसम्म उनी बनेपामा परिवारसँगै बसिन्। पति–पत्नी ज्याला मजदुरी गरेर जीवन चलाउँथे। पतिसँग सम्बन्ध ठीक नभएपछि सानी छोरी लिएर काठमाडौंमा एक्लै बस्न थालेकी छिन्। उनी सुनाउँछिन्, ‘उनले सधैं पिट्थे। केही समय त छोरीहरूको भविष्यको बारेमा सोचेर पनि हिंसा सहेर बसेकी थिएँ। तर हद नै नाघेपछि एक्लै बस्ने निर्णय गरें।’ 

श्रीमानको पिटाइ र मानसिक तनावबाट आफूलाई मात्र नभई छोरीहरुलाई समेत असर परेको महसुस भएपछि काठमाडौं छिरिन् उनी। जेठी छोरीलाई माइतमा लगेर राखिन् तर कान्छी छोरी धेरै सानी भएकाले आफूबाट टाढा राख्न सकिनन्।

काठमाडौं आएर बसेको धेरै समयसम्म के गर्ने सोच्न पनि सकिनन्। केही महिना ज्यामी काम गरेर बिताइन्। एकदिन अर्को कोठामा बस्ने दिदीले मकै पोलेर बेच्ने सल्लाह दिएपछि भाडामा गाडा लिएर मकै पोल्न थालिन्। ‘भारी बोक्नलाई धेरै तागत चाहिने रहेछ। एक–दुई दिन काम गर्दा नै पेट दुखेर गाह्रो भयो। छोरी पनि सिमेन्टमा लतपतिएकी हुन्थी, पुराना दिन सम्झिइन् शारदाले।

मकै बेच्न थालेपछि उनको आर्थिक समस्या केही हदसम्म समाधान भयो। तर एक्लो भएका कारण यहाँ पनि छोरी हेरिदिने कोही थिएनन्। छोरीलाई सँगै लिएर काम गर्नुबाहेक अर्को विकल्प छैन उनीसँग। शारदा बेलुका कोठामा पुगेपछि युट्युब, फेसबुकतिर समाचार हेर्छिन् मोबाइलमा।

केही दिनअघि गोकर्णमा टिप्परको ठक्करले एकै परिवारका दुई छोरीको मृत्युको समाचारले उनलाई झस्काएको छ। आफ्नी छोरी जेनिशाको लागि पनि सडक खतरा भएको महसुस गर्न थालेकी छन्। ‘खेल्दाखेल्दै कतै गाडीमा ठोक्किन पुग्ने हो कि जस्तो लाग्छ। नजरबाट छेरी हट्नेबित्तिकै चिन्ताले सताउँछ,’ शारदाले चिन्ता व्यक्त गरिन्।

सबै तस्बिर : दिनेश श्रेष्ठ

प्रकाशित: Apr 06, 2022| 14:54 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।