बुटवल- निर्माण सम्पन्न भएर निर्माणकर्ता कम्पनीले हस्तान्तरण गरेको ५ वर्षपछि बल्ल बुटवलमा रहेको बधशाला सञ्चालनमा आउने भएको छ। २०६५ बाट शुरु भएको निर्माण कार्य २०७० सालमा सम्पन्न भएको उक्त बधशाला त्यतिबेला नै निर्माण कम्पनीले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। तर, उपमहानगरले वास्ता नगर्दा सञ्चालनमा आउन सकेको थिएन ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ रामनगरमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा जग्गामा करिब २ करोडको लागतमा बधशाला निर्माण भएको हो। निर्माण भएको ५ वर्ष सम्म सञ्चालनमा नआउँदा भवन भित्रका कैयौं सामाग्रीहरु अहिले काम नलाग्ने अवस्थामा छन्। बधशालाको भवन परिसरमा झाडी बढेर हिडडुल गर्न समेत अप्ठ्यारो भइरहेको छ।
लामो समय बधशाला सञ्चालनमा नआउँदा र सुरक्षाको अभावमा भवन जीर्ण बनेको छ । भवनका झ्यालका अधिकांश शिशाहरु फुटाइएका छन् ।
पशुपंक्षी बजार प्रबर्द्धन निर्देशनालयको ३९ लाख रुपैयाँ लागतमा बदशालाको मुख्य भवन २०७० असार मसान्तमा निर्माण सम्पन्न गरेको थियो। पशु सेवा विभाग पशुपंक्षी बजार प्रबर्द्धन निर्देशनालयको ५० लाख र बुटवल उपमहानगरपालिकाको ५२ लाख ४२ हजार ८ सय १८ रुपैयाँमा वधशाला भित्रको भौतिक संरचना निर्माण गरिएको थियो। बधशाला सन्चालनका लागि चालु बजेटमा बुटवल उपमहानगरपालिकाले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।

प्रदेश पाँचको पहिलो र आधुनिक पशु बधशालालाई बुटवल उपमहानगरपालिकाले सार्वजनिक-निजी-पशुपंक्षी उत्पादक सहकारी साझेदारी (पीपीपी) को मोडेलमा सञ्चालन गर्न लागेको उपमहानगरका प्रेस सल्लाहकार अमृत गिरीले जानकारी दिए।
‘पीपीपी मोडेलमा आगामी आर्थिक वर्षभित्र वधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारी थालिएको छ र निजी क्षेत्रको उत्साहजनक सहभागिता रहने भएको छ,’ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने।
बधशाला सञ्चालनका लागि उपमहानगरका प्रमुख सुवेदी संयोजक रहेको सर्वपक्षीय समितिसमेत गठन भएको छ। समितिको सह-संयोजकमा मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेल रहेका छन्। सर्वपक्षीय समितिमा हेफर इन्टरनेशनल, मासु व्यवसायी संघ नेपाल, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ तथा उपभोक्ता हीत संरक्षण मञ्चले सहकार्य गर्नेछन्।
उत्पादक सहकारीका प्रतिनिधिहरु बिहानी सामाजिक उद्यमी सहकारी कपिलवस्तुवाट तुलसी थापा, उपहार सामाजिक उद्यमी सहकारी रुपन्देहीवाट होमादेवि पौडेल, मिलनसार सामाजिक उद्यमी सहकारी पाल्पावाट कमला भण्डारी पनि बधशाला सञ्चालनको साझा समितिमा छन्। समितिमा वडा अध्यक्ष पदम थापा, पशुपंक्षी शाखाका झविन्द्र बन्जाडे, हेफर वजार विकास प्रवन्धक अनन्त सिलवाल र सदस्य सचिवमा उप–महानगरपालिका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल रहेका छन् ।
बुटवलमा दैनिक २५ सय पशुपंक्षी अस्वस्थकर रुपमा बध हुन्छ। मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक २ सय वटा खसी, २ हजार वटा कुखुरा, ४० वटा राँगा, भैसी तथा ५ वटा बंगुर र करिव ५ सय केजी बराबरको माछा वध गरिन्छ।

जथाभावी बध गरिदा एकातिर फोहरका कारण रोग बढ्दै गएको छ भने अर्कोतिर अस्वस्थकर मासुको कारण पनि मानवीय स्वास्थ्यमा गम्भिर समस्या सृजना गरिरहेको छ। नेपालमा वार्षिक ८६ हजार मेट्रिक टन खसीको मासुको माग छ। तारे होटलहरुमा अष्ट्रेलियालगायतका देशहरुबाट प्याकिङको मासु आयात हुँदै आएको विज्ञ तथा हेफर इन्टरनेशनलका कार्यकारी निर्देशक डा. तीर्थ रेग्मीले बताए ।
बधशालाको सन्चालनसंगै बुटवल बजारका सबै मासु पसलहरु सोही ठाउमा स्थान्तरण हुनेछन्। उपभोक्ताहरुले पनि स्वस्थकर मासुजन्य सबै पर्दाथ एकै ठाउमा सुपुथ मूल्यमा प्राप्त गर्ने अपेक्षा गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४