काठमाडौं- धरहरा चढेर काठमाडौं सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ। ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन्।
गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए। एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै नौ महिना कुर्नुपर्ने जनाइएको छ।
उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो। भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको थियो। गोर्खा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको सुरुआत विसं २०७५ पुस १२ मा भएको हो। विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत अन्य धेरै ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए।
यस ऐतिहासिक सम्पदा पुनः निर्माका लागि तेस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले चौथो पटक थप समय माग गरेको छ। तेस्रो पटक थपिएको समय यही चैत मसान्तमा सकिन्छ।