काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पदभार ग्रहण गरेका छन्। तरुण दलको केन्द्रीय कार्यालय रवि भवनमा सोमबार गुरुङले पदभार ग्रहण गरेका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई यही चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनित गरेका हुन्। यसअघि अध्यक्ष रहेका जितजंग बस्नेत पार्टीको केन्द्रीय सदस्य बनेसँगै तरुण दल नेतृत्वविहीन बनेको थियो।
पर्वतका गुरुङ यसअघि विघटित केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष थिए। उनले कोषाध्यक्ष रहँदा पनि पार्टीको हितका लागि काम गरेका कारण स्थानीय तहको पूर्वसन्ध्यामा नेतृत्व पाएपछि देशभरका तरुणहरुलाई पार्टीको पक्षमा गोलबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गुरुङले तरुण दललाई क्रियायाशील बनाउन लागिपर्ने बताए। उनले भने, ‘तरुण दलका नेताकार्यकर्ताको शीर झुकाउने छैन। आउँदो निर्वाचनमा तरुण दल देशैभरि आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन लागि पर्ने छ।’ तरुण दलका सबै निकायहरू यथावत् रहने र तीन तहको निर्वाचनपछि संगठनले नयाँ निर्णय गर्ने उनले बताए।
तरुण दलका पूर्वअध्यक्ष उदयशमशेर राणाले संगठन बुझेको र संगठनप्रति प्रतिवद्ध व्यक्ति तरुण दलको अध्यक्ष हुँदा खुसी लागेको बताए। पाँचौं महाधिवेशनको जिम्मेवारी गुरुङको काँधमा रहेको भन्दै राणाले सबै मिलेर महाधिवेशन सफल बनाउनुपर्ने बताए।
तरुण दलका निवर्तमान अध्यक्ष जीतजंग बस्नेतले हिजोभन्दा पनि बलियो तरुण दल बन्नेमा विश्वास व्यक्त गरे। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैमा आभारसमेत प्रकट गरे।