काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन्।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन। फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन। यो सरकार दुई तिहाईको हो। संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं। हामी अहिले पर्ख र हेरको अवस्थामा छौं।’
कार्यक्रममा नेता महतोले भने,‘हामी सरकारको रवैया र व्यवहार हेरेर अघि बढ्छौं। सरकार जसरी अघि बढ्छ, हामी पनि त्यसैगरि अगाढि बढ्छौं। सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समय आएपछि योजना बन्ला। तर अहिले हाम्रो कुनै योजना छैन।’
महतोले आफ्नो पार्टी अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे। उनले भने,‘हामी सरकारमा जाने कुनै सम्भावना छैन।’ सरकारले संविधान संशोधन गर्छ भन्नेमा आफूहरु पूर्ण रुपमा आशावादी भएकोले यदि संशोधन नगरे त्यसपछि आफूहरुले दबाई गर्न जानेको उनले बताए। महतोले थपे,‘अहिले नै दबाई गर्ने बेला भएको छैन्।’
पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिनेपनि उनले विश्वास दिलाए। उनले भने,‘हामी सहमतिमै महाधिवेशन सम्पन्न र्छौं। पार्टीको नेतृत्व र संगठनात्मक संरचनापनि सहमतिमै टुँगो लगाउँछौं।’ पार्टीको नेतृत्वको लागि प्रतिष्पर्धा नहुने उनको ठोकुवा छ। उनले भने,‘पार्टीको नेतृत्व हामी सहमतिमै टुँगो लगाउँछौं। कुनै प्रतिष्पर्धा हुँदैन। अध्यक्ष मण्डल रहने वा नरहने भन्ने कुरा पनि हामी सहमतिबाटै टुँगो लगाउँछौं। पार्टीको निर्णय सामूहिक प्रक्रियाबाट अगाडि बढाउँछौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४