काठमाडौं- तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटेल आनन्दलाई हटाउन सार्वजनिक सूचना जारी गरिएको छ।
बतास समूहद्वारा सञ्चालित होटेल हटाउन पशुपति क्षेत्र विकास कोषले पठाए पनि बतास समूहले बुझ्न अस्वीकार गरेपछि सार्वजनिक सूचना जारी गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो। तर, बतास समूहले उक्त पत्र बुझ्न अस्वीकार गरेको थियो। त्यसपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना नै निकालेको छ।
परिषद्ले श्री होटल आनन्द प्रालि र प्रालिका सञ्चालक आनन्द बतास तथा सो प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना जारी गरेको हो।
पशुपति क्षेत्र विकास कोष र होटल आनन्द प्रालिका बीचमा नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्ने बारेमा सम्झौता भएकोमा भाडामा लिने पक्ष आनन्द होटल प्रालिले सम्झौतामा लेखिएको विभिन्न सर्तहरू पालना नगरेको भन्दै होटेल हटाउन सूचनामा उल्लेख छ।
यस सम्बन्धमा पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्को मिति माघ २८ मा बसेको बैठकले आनन्द होटल प्रालिबाट ३५ दिनभित्र स्पष्टीकरण सहितको जवाफ पेस गर्न मौका प्रदान गर्न फागुन १ मा पत्राचार गरेकोमा सोको म्यादैभित्र प्रालिले कोषसमक्ष कुनै जवाफ नदिएको बताइएको छ।
कुनै जवाफ प्राप्त नभएपछि पुनः कोष सञ्चालक परिषद्को चैत १४ गते बसेको बैठकले होटल आनन्द प्रालि र कोषका बीचमा भएको सम्झौता चैत १७ गतेबाट रद्द गर्ने निर्णय गरेको थियो।