काठमाडौं- नेकपा (एमाले) सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएको छ।
महासंघको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामथ्र्यका आधारमा संगठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे।
आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव र कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी निर्वाचित भएका छन्।
एमालेको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा उक्त नामावली घोषणा गरेका थिए।
बन्दसत्रबाट सांगठनिक र आर्थिक प्रतिवेदन तथा घोषणापत्र मस्यौदा समितिका तर्फबाट यशोदा अधिकारीद्वारा प्रस्तुत गरेका ११ बुँदे समसामयिक प्रस्ताव पारित भएको थियो।
यही चैत १८ गते एमालेका अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गरेका थिए भने शनिबार महासंघ मातहतका विभिन्न सात विधागत घटकको अधिवेशन सम्पन्न भएको थियो।