काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फर्किएका हुन्।
उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए। त्यस अवसर नेपाली सेनाले प्रधानमन्त्री देउवालाई सलामी अर्पण गरेको थियो।
गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए।
त्यसै क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्ष मोदीले जनकुपुर–जयनगर रेल सेवाको भर्चुअल उद्घाटन गरेका थिए। प्रधानमन्त्री देउवा आइतबार बिहान धार्मिक नगरी वाराणसी पुगेका थिए। वाराणसीमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका हुन्। प्रधानमन्त्री देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरी दिल्ली प्रस्थान गरेका थिए। दिल्लीबाट आइतबार साँझ स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रहेका थिए।