काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन्। उपाध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा एमालेलाई कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको बताए। उनले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरुमा जित्ने बताए।
७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशतभन्दा तल भने नझर्ने उनले दाबी गरे। आइतबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा(माओवादी केन्द्र)लाई चेतावनी समेत दिए।
उनले भने, 'यो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लै लड्छ। कसैसँग तालमेल वा गठबन्धन गर्नुपर्ने एमालेलाई आवश्यकता छैन। हामी एक्लै लड्छौँ। एक्लै प्रतिस्पर्धा गर्छौ। एक्लै जित हासिल गर्छौ। कम्तिमा पनि हाम्रो टार्जेट कति छ भने ७० प्रतिशत स्थानीय तहहरुमा, ७० प्रतिशत पालिकाहरुमा हामी एक्लै जित्छौँ। पालिकाका पदाधिकारीहरु, सदस्यहरु हामी एक्लै जित्छौँ। र त्यो प्रतिकुलता थपिएछ भनेपनि हाम्रो विजयको ग्राफ ६० प्रतिशत भन्दा तल ओर्लिन्न।'
उनले माओवादी केन्द्रसँग तालमेलका लागि कुनैपनि प्रकारको संवाद नभएको स्पष्ट पारे। माओवादी केन्द्र र एमालेको बीचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाई प्रति टिप्पणी गर्दै उनले सो कुरा हास्यास्पद भएको बताए। कम्युनिष्ट सरकार ढालेर कांग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धन बनाउने माओवादी केन्द्रलाई चाहीँ ग्लानी र पश्चाताप हुनुपर्ने उनले बताए। माओवादी केन्द्रसँग कुनैपनि प्रकारको वार्ता गर्नु आवश्यक नरहेको एमाले उपाध्यक्ष पौडेलले बताए।
उनले भने, 'नेकपा एमालेसँग माओवादी केन्द्रका कुनैपनि नेता, कार्यकर्ता वा सदस्यहरुका बिचमा औपचारिक वा अनौपचारिक रुपमा, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा, घोषित वा अघोषित रुपमा, दृश्य वा अदृश्य रुपमा कुनैपनि हिसाबका सम्वाद भएका छैनन्। संवाद गर्नुपर्ने आवश्यकता पनि छैन। र यो नेकपा एमालेसँग संवाद भइरहेको छ भनेर के उद्देश्यले भनिएको छ हामी अनुमान गर्न सक्छौँ। कुन बार्गेनिङका निम्ति यो अभिव्यक्ति आइरहेको छ।'
सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भ¥याङ नबन्ने उनले बताए।