काठमाडौं– भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज उत्तर प्रदेशको सहर वाराणसी पुगेका छन्। शुक्रबार नयाँ दिल्ली उत्रिएका देउवा शनिबार उच्चस्तरीय भेटघाट सकेर आज वाराणसी पुगेका हुन्।
त्यसअघि प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतको बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए।
धार्मिक नगरी वाराणसीमा देउवाले पत्नी आरजु राणासहित काशी विश्वनाथ मन्दिरमा पूजाआजा गरे। त्यसक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरुले पनि उनलाई साथ दिएका थिए। वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए।
प्रधानमन्त्री देउवाले वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पनि पूजाअर्चना गरे। देउवाले ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास पनि गरेका छन्।
नेपाल सरकारले वृद्धाश्रमका निम्ति १ करोड रुपैयाँ विनियोजन गरेको छ। यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ। नेपालबाट तीर्थयात्रामा वाराणसी जानेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। नेपाली शैलीमा बन्ने भवनमा ३५ कोठा रहनेछन्। पुरातत्व विभागले भवनको नक्सांकनको काम गरिरहेको छ।
यसैबीच, प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज दिवाभोजको आयोजना गरेका छन्। प्रधानमन्त्री देउवा र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श समेत भएको थियो।
प्रधानमन्त्री देउवा आज अपराह्न वाराणसीबाट नयाँ दिल्ली फर्किने र विमानस्थलबाट सिधै काठमाडौं उड्ने कार्यतालिका छ।