काठमाडौं- देशका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
रुपन्देही देवदह नगरपालिका-१० आसाम टोलबाट करिब एक किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन थापा र २१ वर्षीय शिशिर सेन्चुरी रहेका छन्। अस्थायी प्रहरी चौकी भलुहीबाट खटिएको प्रहरीले अर्जुनको घरमा उनीहरूलाई गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारी घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
कपिलवस्तु कपिलवस्तु नगरपालिका-११ जहदीबाट करिब चार ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-९ धुसुवा बस्ने २७ वर्षीय लक्ष्मण पन्थी र सोही ठाउँ बस्ने ३५ वर्षीय दुर्गा राना मगर रहेका छन्। भे५प ५१६० नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
पर्सा वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट करिब ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-२ बस्ने २३ वर्षीय प्रबिन तामाङ र सोही उपमहानगरपालिका-१० बसपार्क बस्ने २१ वर्षीय उमेश लामा रहेका छन्।
बा८६प ५०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।