काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ।
उक्त मुद्दाको पेशी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा तोकिएको छ। गोलाप्रथाबाट उक्त मुद्दा दुई न्यायाधीशको इजलासमा पेसी तोकिएको हो। यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले सो रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जना सांसदविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले यसअघि अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको थियो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले सो रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो। एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसदको पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए।
दुवै पक्षको बहसपछि सर्वोच्चले फैसला सुनाउने छ। सर्वोच्चले सुनाउने फैसलाले एकीकृत समाजवादीको भविष्य निर्धारण हुनेछ। यही विषयलाई लिएर नेकपा एमालेले संघीय संसदको एउटा अधिवेशन पूरै अवरुद्ध गरेको थियो।