काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङबीच भेटवार्ता भएको छ । सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा छलफल भएको थियो ।
भेटमा प्रचण्डले कम्युनिस्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टी एकतालाई चुनावमा जिताएर अनुमोदन पनि गरेको बताए । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको उनको भनाई थियो ।
प्रचण्डले विदेशमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट समेत पारे । अध्यक्ष प्रचण्डले भने, ‘ म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदैगर्दा खुसी लागेको छ ।’
विदेशमन्त्री चिङले राष्ट्रपति सिजिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट देशमा स्थायीत्व कायम भएकोमा बधाई दिँदै नेपाल र नेपालीको प्रगति र समृद्धिका लागि सदैव तयार रहेको बताए । बेल्ट एण्ड रोड इनिसेटिभका लागि चौतर्फी वातावरण तयार भएको पनि उनको भनाई थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४