बुधबार, असार ३१, २०८३

काठमाडौंका ट्राफिक लाइट : 'बाँदरको हातमा नरिवल'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मानिसको हकमा मात्र नरिबल स्वादिलो र बहुउपयोगी फल हो, बाँदरका लागि होइन। 'बाँदरको हातमा नरिबल' उखान उपत्यकाका सडकमा जोडिएका ट्राफिक लाइटको हकमा ठ्याक्कै लागू हुन्छ। 

बाँदरले नरिबललाई उपयोग गर्न नजान्दा बाँदरको कम नरिबलकै ज्यादा बदनामी भएको मानिन्छ। त्यसरी नै उपत्यकाका सडक बत्तीले ट्राफिक व्यवस्थापनलाई नै गिज्याइरहेका छन्। र, उपलब्ध बस्तुको महत्व नबुझ्दा प्रयोग र औचित्यहीन बन्छ भन्ने उदाहरण बनेका छन्, ५२ वर्षअघि जोडिएका ट्राफिक बत्ति। 

२०२३ सालमा काठमाडौं उपत्यकाका २० भन्दा बढी स्थानमा ट्राफिक व्यवस्थापनमा बत्तीको प्रयोग शुरु भएको थियो। आधुनिकता र जनसंख्याको चापसँगै काठमाडौंका तीनै जिल्लामा सवारी साधन र पैदल यात्रुको चाप बढेको छ। अधिकांश सडक पनि फराकिला भएका छन्। तर, ट्राफिक लाइट ५२ वर्षअघिको भन्दा दूरावस्थामा छन्। 

सवारी साधन र पैदल यात्रुको सहजताका लागि जडान गरिएका सडक बत्तीलाई अत्याधुनिक बनाउनु त टाढाको कुरा, जडान भइसकेका पनि प्रयोगविहीन अवस्थामा छन्। 

विकसित मुलुकमा आकस्मिकबाहेकमा सवारी साधन तथा सडक प्रयोगकर्तालाई सडकबत्तीले नै आवतजावत गर्न निर्देशित गर्छन्। सडकबत्तीको नियमित प्रयोग दुर्घटना न्यूनीकरण मात्र नभई ठूलो संख्यामा जनशक्ति बचतका लागि पनि उपयोगी भएका छन्।

एसियाली विकास बैंक (एडीबी)को ५१ प्रतिशत अनुदानमा जडान हुने भनिएका सडक बत्तीको लागत मूल्यभन्दा बढीको मात्र टेन्डर परेकाले तीन पटकसम्म रद्द भइसकेको छ। सोही कारण त्यसका लागि छुट्याइएको बजेट पनि 'फ्रिज' भएको छ। 

काठमाडौं-भक्तपुर सडकका चार स्थानमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ट्राफिक लाइट जडान गरिदिएको थियो। कौशलटार, गठ्ठाघर, सूर्यविनायक र सल्लाघारीका सडक बत्ती प्रयोगमै छन्। 

काठमाडौंका नयाँ बानेश्वर र महाराजगञ्जका ट्राफिक लाइट पनि चालु अवस्थामा छन्। सडक विभागले सबै सडक बत्तीलाई नियमित बनाउने बताउँदै आएको छ। तर, कार्यान्वयन पक्ष फितलो छ। 
सवारी साधन र पैदल यात्रुको बढी चाप हुने पद्मोदय मोड, केशर महल, पुतली सडक, सिंहदरबार, माइतीघर, थापाथली, कालिमाटी, गौशाला, तीनकुने, कोटेश्वर, जडिबुटीजस्ता अति व्यस्त सडक खण्डका ट्राफिक लाइट निभेको धेरै समय बित्यो। 

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मुलद्वारमा जडित ट्राफिक बत्तीले त्यहाँबाट ओहोरदोहोर गर्ने प्रधानमन्त्री, मन्त्रीहरू लगायत उच्चपदस्थ अधिकारीहरूलाई गिज्याइरहेको छ। त्यसको नजिकमै पर्छ, महानगरीय ट्राफिक प्रहरी महाशाखा पनि। नियामक निकाय र अधिकारीहरूले त्यसलाई देखेको नदेख्यै गरिरहेका छन्। 

उपत्यकाका २८ मध्ये मुख्य सडकका ६ र सहायक सडकका चार स्थानमा मात्र ट्राफिक बत्तीको आंशिक प्रयोग हुँदै आएको छ। अन्यत्र ट्राफिक प्रहरीको इशाराबाटै सवारी साधन र पैदल यात्रुको व्यवस्थापन हुँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।