काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन रोक्न खोज्नेका हातमा मुलुकको शासन जाँदा देशमा अस्थिरता बढेको बताएका छन्।
शनिबार गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति, पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनका लागि लड्ने पार्टीले मुलुकको शासन चलाउन नपाउँदा समस्या भएको बताएका हुन्।
‘बाली लगाउने, दुःख गरेर स्याहारसम्भार गर्ने र थन्क्याउनेसम्म एउटाले गर्ने अनि खाने बेलामा अर्कोको हातमा जाने जो बिडम्बना भयो, यही कारण नेपाल अस्थिरताको ठूलो भूमरीमा फसेको छ। माओवादी केन्द्रले परिवर्तन ल्याउने र परिवर्तनको फल परिवर्तन रोक्न खोज्नेको हातमा पर्दा अस्थिरता भयो,’ उनले भने।
राजनीतिक परिवर्तन ल्याउनमा माओवादीले गरेको सशस्त्र संघर्षको महत्वपूर्ण भूमिका भएको दाहालले दाबी गरे। उनले भने, ‘माओवादी आन्दोलनसँग पछिल्लो चरणमा सात राजनीतिक दल जोडिएपछि युद्ध र आन्दोलन सँगै भए। त्यसपछि निर्वाचन, शान्ति सम्झौता, संघीय लोकतान्त्रिक गणतन्त्र, ठूल्ठूला परिवर्तन, सिंहदरबारको अधिकार गाउँगाउँसम्म यी सबै भए। तर देशमा राजनीतिक स्थायित्व भइसकेको छैन। कुनै पार्टीको सरकार कति दिन बस्ने हो, लगातार राजनीतिक अस्थिरता कायमै छ।’
राजनीतिक परिवर्तन ल्याउने दलहरूले त्यसलाई संस्थागत गरेर मुलुकमा विकास गर्न नसक्नुका पछाडिको कारण परिवर्तन ल्याउनेले शासन चलाउन नपाउनु रहेको दाहालको तर्क थियो। माओवादीले मुलुक संकटमा पर्दा आफूले त्याग गरेर भए पनि मुक्त गरेको उनको दाबी थियो। जितेका स्थानीय तहमा राम्रो काम गरेको तर प्रदेश र संघीय सरकार सञ्चालन गर्न नपाउँदा समस्या भएको उनको भनाइ थियो।
कार्यक्रममा गेसो सभापति कृष्णकुमार राई, जनता समाजवादी पार्टीका सोलुखम्बु जिल्ला अध्यक्ष ज्ञान किरातीलगायत एक दर्जन जति माओवादी केन्द्र प्रवेश गरेका थिए।