काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन्।
प्रधानमन्त्री मोदीलाई नेपालमा स्वागत गर्न आफू प्रतीक्षारत छु रहेको प्रधानमन्त्री देउवाले बताएका छन्। हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा देउवाले समकक्षी मोदीले २०१४ मा गरेको नेपाल भ्रमणको स्मरणसमेत गरेका थिए। मोदी २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल भ्रमण गरेका थिए। त्यसपछि उनले विभिन्न समयमा तीन पटक भ्रमण गरिसकेका छन्।
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किने कार्यक्रम छ। देउवाको भारत भ्रमणको क्रममा दुई प्रधानमन्त्रीबीच विभिन्न चार वटा सम्झौतामा हस्ताक्षर भएको छ।