काठमाडौं- नेपाल बार एसोसियशनको २६औं निर्वाचनमा पदम पाण्डे पहिलो मतदाता बनेका छन्। उनले मतदान गरेलगत्तै बाँकी मतदाताले मतदान गर्न सुरु गरेका हुन्।
एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनका मतदाता रहेको पाण्डेले सबैभन्दा पहिले मतदान गर्न पाउँदा गर्व लागेको बताएका छन्।
उनले भने, 'मैले मतदान गरेपछि बाँकी मतदाताहरूले पालो पाए। सबैभन्दा पहिले मतदान गर्दा म साँच्चीकै खुसी छु।'
त्यसो त आज देशभरका विभिन्न ३५ निर्वाचन केन्द्रमा एकैसाथ मतदान भइरहेको छ।
बारको नयाँ कार्य समिति नेतृत्वको लागि अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमनि अधिकारीसहित अन्य ६ जनाले उम्मेदवारी दिएका थिए। उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई र अमिता लक्ष्मी सैंजु श्रेष्ठले पनि विभिन्न कोटाबाट उम्मेदवारी दर्ता गराएका हुन्।
तर, प्रतिस्पर्धा घिमिरे र अधिकारीबीच हुने देखिएको छ। कांग्रेसनिकट घिमिरेलाई सत्तारुढ गठबन्धनले अघि सारेको हो भने एमालेनिकट अधिकारीलाई प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले अघि सारेको हो।
साढे ८ हजार मात्र मत खस्ने निर्वाचन आयोगको अनुमान
बारको चुनावका लागि ९ हजार ५ सय ८८ मतदाताहरू भए पनि निर्वाचन आयोगले भने साढे ८ हजार मात्र मत खस्ने अनुमान गरेको छ।
‘देशभरको निर्वाचनमा सोलुखुम्बु, इलाम, अछाम र दार्चुलाका ३\३ जना मतदाताहरू छन्’, निर्वाचन आयोग स्रोतले नेपाल समयसँग भन्यो, ‘सबैभन्दा धेरै ललितपुरबाट मात्रै २ हजार २ सय ५ जना अधिवक्ताहरू छन्।’
महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायको उम्मेदवारी छ।
निर्वाचनले बारको नयाँ कार्य समितिअन्तर्गत एक अध्यक्ष, आठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, १४ सदस्य चयन गर्नेछ।