आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले पूर्ण असफल भइसक्यो, फेरि बहुमत ल्याउने पालो कांग्रेसको हो : नैनसिंह महर

एमाले पूर्ण असफल भइसक्यो, फेरि बहुमत ल्याउने पालो कांग्रेसको हो : नैनसिंह महर

एमाले सिद्धान्त मुलुकमा पूर्ण असफल भइसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- एमाले सिद्धान्त मुलुकमा पूर्ण असफल भइसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ। नेपाली कांग्रेस काठमाडौं-काभ्रे सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै नेता महरले एमाले उद्देश्य र गतिहीन पार्टी भएको आरोप लगाए।

'जोक भनेर देश चल्दैन। देश चलाउन भिजन चाहिन्छ। दुई तिहाइको सरकार टिकाउन नसकेको एमालेसँग आगामी निर्वाचनमा जान कुनै एजेन्डा नै छैन,' नेता महरले भने, 'योजना नै नभएपछि एमाले अरूलाई सराप्दै हिँडिरहेको छ।' ओली प्रवृत्तिका कारण एमाले असफल सिद्ध भएको महरले बताए।

बाम एकता टिकाउन नसकेका ओलीले आफ्ना पुराना सहयात्री माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि सरापी रहेको आरोप लगाए। 'पार्टीमा असन्तुष्टि हुन्छ। नेतृत्वले असन्तुष्ट पक्षको भावना समेट्न सक्नुपर्थ्यो। तर, ओलीले दुई तिहाइको सरकार ढाले। बाम एकता ढाले। संसद् विघटन गरे,' महरले भने।

ओली नेतृत्वको सरकार हुँदा नेपालमा जनताले सहज रूपमा कोरोनाविरुद्धको खोप पाउने अवस्थासमेत नरहेको उनले बताए। शेरबहादुर देउवा नेतृत्वको सरकार आइसकेपछि जनताले खोप अभाव भयो भनेर गुनासो गर्न नपरेको उनले बताए।

'ओली जीले कोरोना महामारीमा खोप जस्तो संवेदनशील कुरामा समेत भ्रष्टाचार गर्नुभयो। केही मन्त्रीका करोडौंको बार्गेनिङ गरेका अडियो सार्वजनिक भए। यी सबै कुराले एमाले आत्तिएको छ। उनले भोट माग्ने अधिकार गुमाइसकेको छ,' नेता महरले भने।

जनता स्थानीय तहको निर्वाचन कुरेर बसेका र एमालेको उग्र रुपलाई निर्वाचनमा ठेगाना लगाइदिने महरले बताए। 'घर-घर जाऔं, कांग्रेस जिताऔं' अभियानका क्रममा पनि आफूले कांग्रेस प्रतिको जनताको विश्वासलाई धेरै नजिकबाट महसुस गरेको उनले बताए।

अप्ठ्यारो पर्दा देशलाई कांग्रस नै चाहिने भएकाले कांग्रेसलाई नै दुई तिहाइ दिएर मुलुकमा विकास गर्न दिनुपर्छ भन्ने जनताले बुझिसकेको उनले बताए। उनले सबै नेता कार्यकर्ताहरूलाई जनताको मनमा बस्ने गरी काम गर्न निर्देशनसमेत दिएका छन्।

कांग्रेसलाई चौतर्फी घेराबन्दी गर्न खोजेको अवस्थामा जनता नै न्यायमूर्ति भएकाले जनताको मनमा बस्ने गरी काम गर्नुपर्ने महरले बताए। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गणेश लामा, काभ्रे जिल्ला सभापति तीर्थ लामालगायतले आफ्नो विचार राखेका थिए।

प्रकाशित: Apr 02, 2022| 13:09 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...