काठमाडौं- रजनी सचेतना नेपाल फाउन्डेशनले टोखा नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ।
फाउन्डेशनले आज तिलगङ्गा आँखा अस्पताल, काठमाडौं सटर व्यवसायी संघ, बानियाँटार युवा समाज, भण्डारी टोल युवा क्लब, नेपाल होटल व्यवसायी संघ, महिला उपकार समाज सुधार मञ्च र पञ्चकुमारी युवा क्लबको सहकार्यमा आज निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको हो ।
टोखा नगरपालिका–९ गोँगबु गणेशस्थानस्थित कामना मावि परिसरमा आज भएको कार्यक्रममा निःशुल्क आँखा जाँच शिविर, निःशुल्क मोतियाविन्दुको शल्यक्रिया तथा निःशुल्क औषधि एवम् चस्मा वितरण गरिएको हो।
फाउन्डेशनकी अध्यक्ष रजनी थापाले टोखा नगरपालिकाभित्र सामाजिक काम गर्दै आएको रजनी फाउन्डेशनले आज गणेशस्थानमा निःशुल्क आँखा शिविर एवं मोतियाविन्दुको शल्यक्रिया गरेको जानकारी दिए।
रजनी फाउन्डेशनले विगत ५ वर्षदेखि समुदायस्तरमा महिला, युवा तथा स्वास्थ्य लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष थापाले बताए।