काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशीको नियुक्ति प्रक्रिया रोकिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
'प्रधानन्यायाधीशको अनुमोदन गम्भीर मोडमा' शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले 'प्रधानन्यायाधीशमा जोशीको सुनुवाइ : पार्टी लाइन पर्खदै समिति' शीर्षकमा खबर लेखेको छ । आजको नागरिक दैनिकले 'प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया : किन रोकिए जोशी' शीर्षकको खबर प्रकाशित गरेको छ । अन्नपूर्ण पोस्टले भने यो विषयलाई पहिलो पृष्ठमा स्थान नै दिएको छैन् ।
सर्टिफिकेट र अन्तरिम आदेशमाथि उठेका प्रश्नले प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन अनिश्चित बनेको पत्रपत्रिकाले लेखेका छन् । आजका नयाँ पत्रिकाले समितिसंग अनुमोदन, अस्वीकार र उपसमिति गठनको तीन विकल्प रहेको उल्लेख गरेको छ । उसले प्रधानन्यायाधीशमा सिफारिस जोशीसंग सक्षिप्त कुराकानी समेत गरेको छ । कुराकानीमा जोशीले प्रधानन्यायाधीशलाई बोलाएर कठघरामा उभ्याएजस्तो नगर्न आग्रह गरेका छन् ।
यसैगरि आजको नागरिक दैनिकले कामभन्दा राजस्व असुलीमा सरकारले बढी ध्यान केन्द्रीत गरेको विषयमा टिप्पणी लेखेको छ । राज्यका तीनै तहले राजस्व असुलीको महत्वाकांक्षी लक्ष्य राखेर बजेट ल्याएका छन् भने लक्ष्य पुरा गर्न सर्वसाधरण र उद्योगी व्यवसायीमाथि असुलीमा चर्को दबाब दिन थालेको उसले उल्लेख गरेको छ ।
सरकारले लगाएको जथाभावि करको विरोधमा वीरगन्ज र भरतपुरका सर्वसाधरण र व्यवसायी विरोधमा उत्रिन थालेका छन् । देशका अन्य भागमा पनि विरोधको स्वर सुन्न थालिएको नागरिकले लेखेको छ । आजको नागरिक दैनिकले दोलखाबाट राजधानी आएपुग्न ८ देखि १० घण्टा लाग्न थालेको र पाइलट नै मापसेमा परेको विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।
अन्नपूर्ण पोस्टले पनि कुरामा क्रमभंग सुशासनमा सुस्त शीर्षकमा सरकारका विषयमा टिप्पणी लेखेको छ । सरकार गठनको पाँच महिना पुग्दै गर्दा सुशासनको क्षेत्रमा उसको कार्यशैली सुस्त देखिएको टिप्पणी गरेको छ । यस्तै अन्नपूर्णले राष्ट्रिय ऋण ५ वर्षमा ६२ प्रतिशतले वृद्धि भएको खबरलाई प्रमुखताका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४