काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ। केन्द्रीय कार्यकारिणी समितिको बिहीवार बसेको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनैपनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो।
स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानिय पार्टी समितिलाई अधिकार दिइएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी भने प्रदेश र जिल्ला समितिलाई दिइएको उनको भनाइ छ।
‘हाम्रो कार्यकारिणी समितिको बैठक आज दोस्रो दिन पनि चलेको हो । आजको बैठकमा हामीले भएको हाम्रो जुन पार्टीको विधान हो। त्यसलाई परिमार्जन समेत हामीले पारित गर्यौँ। दोस्रो कुरो आजको सम्पूर्ण बैठक स्थानिय निर्वाचनलाई नै केन्द्रीत गरेर बृहत छलफल भयो। त्यो छलफलबाट एउटा गठबन्धन सम्बन्धमा पनि हामीले निर्णय गर्यौँ। अहिले हामीले कुनै खास दलसँग गठबन्धन गर्दैनौँ,' नेता कर्णले भने, 'आफ्नो जिल्लाले, प्रदेशले र स्थानीय गाउँपालिका, नगरपालिकाले आवश्यकता र औचित्य हेरी उसले गठबन्धन गर्न पाउने उसलाई निर्णय हामीले गर्यौँ। कोसँग, कहाँ, कसरी गर्ने हो? त्यो जिम्मेवारी लोकललाई नै दियौँ। त्यसको अनुगमन प्रदेश र जिल्ला समितिले पनि गर्छ।’
बैठकले पार्टीको विधानलाई परिमार्जनसहित पारित गरेको छ।