काठमाडौं- तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध तीन डीआईजी सर्वोच्च पुगेका छन्। डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
वरिष्ठता मिच्दै कनिष्ठलाई एआईजीमा बढुवा गरिएकाले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश माग गर्दै उनीहरू सर्वोच्च पुगेका हुन्।
रिट दायर गर्ने डीआईजीहरूले यसअघि बढुवा विरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए। समितिले नियमसंगत नै देखिएको ठहर गरेको थियो।
समितिले कैफियत नदेखाएपछि बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिसकेको छ। सरकारले डीआईजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।