काठमाडौं– सत्तारुढ गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहमा छुट्टाछुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा समेत पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा पार्टीका सम्बन्धित तहका प्रमुख सम्मिलित संयन्त्र निर्माण गर्ने निर्णय भएको जानकारी दिए। उनले भने, ‘प्रदेश, जिल्ला र स्थानीय तहमा तत्कालै गठबन्धन दलको संयन्त्र बन्छ। त्यसले आफ्नो क्षेत्रमा गठबन्धनको अवस्था कस्तो छ भन्नेबारे विस्तृतमा प्रतिवेदन तयार गरेर केन्द्रलाई पठाउँछ। आगामी निर्वाचनमा हामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँमा उभिएर चुनाव लड्छौँ।’
ती संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन गरिएको जानकारी उनले दिए। मुलुकभरको अवस्थाबारे जानकारी लिएपछि कहाँ कसरी तालमेल गर्ने भनेर निर्णयमा पुग्ने उनले बताए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि गर्न लागेको भारत भ्रमणका बारेमा जानकारी गराएका थिए भने गठबन्धन दलका नेताहरूले उनलाई सफलताको शुभकामना दिएका थिए।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए।