काठमाडौं– चारदलीय सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा एकतावद्ध भएर जाने निर्णय गरेको हो।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार महानगरमा हुने तालमेल केन्द्रीय तहबाटै टुंगो लगाउने निर्णय बैठकले गरेको छ। अन्य तहको तालमेलका लागि संयन्त्र बनाउने निर्णय समेत बैठकले गरेको छ। ‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ।
महानगर तालमेलको निर्णय माथिबाट लिने र अन्य तहमा हुने तामेलका लागि तलै निर्णय गर्न दिने सहमति भएको छ,’ खनालले भने, ‘त्यसका लागि सबै दलको संयन्त्र बनाउने सहमति पनि हामीले गरेका छौं। अन्य बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने छौं।’