सुनसरी- सोमबार राति सुनसरीको इटहरीमा बम विस्फोट हुँदा २ जना घाइते भए। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फोटमा परेर इटहरी उपमहानगरपालिका–२ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्। थापाको डेरामा नै बम विस्फोट भएको थियो। घाइते थापाको विराटनगर आँखा अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुरुङको उपचार भइरहेको छ।
घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ। परिषद् हिन्दूवादी समूह हो। परिषद्ले फागुन १५ गतेदेखि सशस्त्र संघर्षको घोषणा गरिसकेको छ। परिषद्को पर्चा भेटिएपछि इटहरी विस्फोटको तारले हिन्दूवादी समूहतिर संकेत गरेको छ।
थापाको डेरामा लमजुङका गुरुङ केही दिनअघि पाहुना आएका थिए। संघीयता खारेज, हिन्दू राष्ट्र घोषणालगायतका माग राख्दै परिषद् संघर्ष घोषणा गरेको थियो। सोही परिषद्ले झापाको विर्तामोड र दमकमा पनि शंकास्पद वस्तु राखी त्रसित गराएको थियो।
गत माघ ९ गते विर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक–५ मा रहेको एक चर्चको गेटमा शंकास्पद वस्तु फेला परेको थियो। सो घटनामा संलग्न भएको आरोपमा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई फागुन ५ गते सार्वजनिक गरिएको थियो। यो समूहले हिमाल सुरक्षा परिषद्भन्दा अघि ‘गोरखा जनमुक्ति पार्टी’ का नाममा सङ्गठन चलाउँदै आएको बताइएको छ।
इटहरीमा पनि चर्चमा बम राख्ने योजनाले ल्याइएको भए पनि तत्कालै चर्चमा राख्न सबै कुरा नमिलेपछि कोठामा लगिएको हुन सक्ने प्रहरीले आकलन गरेको छ। विष्फोटपश्चात् पुगेको प्रहरीले कोठा सर्च गर्दा ल्यापटप राख्ने कालो झोला पनि बरामद गरेको थियो।
लमजुङका युवालाई दुई साताअघि दुई दिनका लागि भन्दै रविन थापाकी आमा लक्ष्मी ठकुरीले बोलाएकी थिइन्। घटना हुनुभन्दा दुई दिनअघि मात्र लक्ष्मी भने भारत जानका लागि हिँडेको स्थानीयले बताएको स्रोत बताउँछ।
घटनामा उनको छोरा रविन परे पनि आमा लक्ष्मी भने अहिलेसम्म सम्पर्कमा नआएको उपचारमा निगरानी गरिरहेको प्रहरी बताउँछ।
घाइते भएका गुरुङ सोमबार मात्रै काँकडभिट्टा गएर आएको प्रहरीको भनाइ छ। झापामा बम राख्ने काममा संलग्न एक व्यक्ति इटहरी घटनामा पनि जोडिएको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। खगेन्द्र खरेल नाम गरेका व्यक्ति यी दुवै घटनामा जोडिएकाले पनि अनुसन्धानको सुई हिन्दूवादीतिर केन्द्रित छ।
माघ ९ गते झापाको विर्तामोड नगरपालिका–४ बसस्टेन्डमा प्रेसर कुकरका साथमा पर्चा फेला परेको थियो भने माघ १३ गते दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको प्रेसर कुकर र पर्चा फेला परेको थियो।
झापाबाट पक्राउ परेका अधिकांश कुनै नै कुनै अपराध कर्ममा जोडिएको प्रहरीको भनाइ छ। उनीहरूले नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै नेपालमा अपराध कर्म गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले विस्फोटस्थलमा हिमाल सुरक्षा परिषद्को पर्चा भेटिएपछि झापाको घटनालाई पनि जोडेर हेर्न थालिएको बताएको छ। 'सङ्गठनका सदस्य अपराधका विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान पूरा गरेपछि मात्र गरेर मात्र यकिन विवरण भन्न सकिने प्रहरीको भनाइ छ।
प्रहरी स्रोतका अनुसार घाइते गुरुङको बयान पनि लिइसकेको छ। आफूले बम हो भनी थाहा नभएको बताएको प्रहरीको भनाइ छ। आफूले पैसाका लागि मात्र काम गरेको बयान दिएका छन्।
झापा प्रहरीले पक्राउ गरेका व्यक्तिहरू लागूऔषध, वैदेशिक रोजगारी ठगी मुद्दा, प्रेसर कुकर बम राखेको आरोपमा पक्राउ परी छुटेका व्यक्तिहरू भएको बताएको छ।