आइतबार, असार ७, २०८३

ऊनको अभावमा चर्खा चल्न छोड्यो

उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

गलेश्वर- उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा  व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ। गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासीले बताएका छन्।

National life

भेडापालनबाट गाउँलेले राम्रो आम्दानीसमेत गर्दै आएका भए पनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानहरुको ध्यान जान सकेको छैन। भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले बताए। 

भेडाको रौँबाट बनेका ऊनका कपडाको माग  देश–विदेशमा समेत उच्च रहे पनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालक कृषकहरूको भनाइ रहेको छ।

ऊनबाट बन्ने कपडाहरू (हापदुला, काम्लो, बख्खु, घुम) को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ। गाउँघरका बूढापाकाहरुले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवाहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउनतर्फ लालायित हुने गरेकाले गाउँघरमा चर्खा चल्न छोडेका मालिका गाउँपालिका–५ देविस्थानका टेकबहादुर बुढाले बताए। 

धवलागिरि गाउँपालिका–५ की तेजमायाँ विक उमेरले ७१ वर्षकी भइन्। जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौँबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उनले अहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन पनि छोडिन्। उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ। 

Shivam cement

तेजमाँयाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आएकी हुन्। रौँबाट बन्ने कपडा बुन्न बजैबाट (हजुरआमा) सिक्नुभएको हो । तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनले  बताइन्। 

'मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखेँ, त्यसपछि मैले पनि बुन्न थालेँ, तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ,' उनले भनिन्, 'अहिलेका पुस्ताले यस्ता कामहरू गर्नै जान्दैनन्, चासो नै दिँदैनन्, हाम्रो शषपछि यी सबै कुरा हराएर जान्छन्।' त्यतिबेला अहिलेको जस्तो सिरक, डसनाको जमाना नभएको उनले बताइन्। 'सबै भेडाको रौँबाटै बनेका घुम, काम्लो थियो, कपासको कपडा त धेरै पछि आएको हाम्रो ठाममा,' उनले भनिन्। 

अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकोप्रति उनी चिन्तित छन्। उनी भन्छिन्, 'अहिलेका केटाकेटीहरु पुरानो जमानाका कुरालाई खुइले कुरा भन्छन्, चासै दिँदैनन्, हामी बाँचुन्जेल ओढ्ने, ओछ्याउने हो मरेपछि यी पुराना थाउनालाई हामीसँगै पोलिदिन्छन्।' ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम पाँच हजारदेखि ४०/५० हजारसम्म पर्ने गरेको स्थानीय बूढापाकाहरुको भनाइ छ। न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

उनले पछिल्लो समय ऊनका कपडाहरूको उत्पादन कम हुँदै गएको स्वीकार गरे। नयाँ–नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ। 

'पहिले पहिले दुःख पाउने (गरिब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिन मान्छेले मात्रै खोज्ने र लगाउने गरेको पाइन्छ,' मालिका गाउँपालिका–७ बिमका कर्मबहादुर जुग्जालीले भने, 'यस्ता कपडाहरु वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै फाइदाजनक हुने हुनाले बुझेका र किन्न सक्ने मानिसहरुले खोजी गर्ने गर्दछन्।' - रासस 

प्रकाशित: Mar 30, 2022| 12:14 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।