काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा कस्तो प्रकारको गठबन्धन गर्ने भन्नेबारे सत्ता गठबन्धनका नेताहरूबीच छलफल हुने बताएका छन्। उनले सबै दलहरूको छलफलबाट गठबन्धनबारे टुंगो लाग्ने बताएका हुन्।
नेपाली कांग्रेसले मंगलबारमात्रै स्थानीय तहमा सत्ता गठबन्धन दलहरूसँग तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको थियो। बुधबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा बोल्दै नेता सिंहले भने, 'गठबन्धन गरेर चुनावमा जाने भन्ने कुरामा अब दुईमत रहेन। त्यो कस्तो प्रकार, कुन मोडेलमा गर्ने कुरा गठबन्धन दलहरू बसेर चाँडै टुङगो लाग्नेछ।'
उनले गठबन्धनको औचित्य नसकिएको र यहि गठबन्धनकै दलहरूबीच स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल हुने बताए।
‘कांग्रेसको अवस्था के थियो भन्ने कुरा बिर्सनु हुँदैन। हामीले त्यो धरातल भुल्नुहुँदैन,’ उनले भने। उनले देश र जनताका लागि कुन पार्टी के गरेका छन् भन्ने कुराको लेखाजोखा अब चुनावबाटै हुने दाबी गरे।