काठमाडौं- बंगलादेशमा मेडिकल अध्ययन गर्ने नेपाली छात्राहरूको चरित्रहत्या गर्ने गरी अभिव्यक्ति दिने मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंमाथि कारवाही माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
नेपाली महिलाहरूको इज्जत र प्रतिष्ठामाथि गम्भीर चोट पुर्याएको र दशकौं पुरानो मित्रराष्ट्र बंगलादेशसँगको सम्बन्धमा आँच पुर्याएको भन्दै कानूनबमोजिम कारवाही माग गरिएको छ।
यसरी प्रस्ताव दर्ता गर्नेमा कांग्रेसका डिला संग्रौला र यसको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइएको हो।
संसदमा पेश भएको विशेष प्रस्ताव हेर्नुहोस्
यसअघि पनि नेपाली मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशले एक विज्ञप्ति जारी गरेर तथ्यहीन कुराहरू बोलेको भन्दै प्रसाईंलाई कडा कारवाही गर्न माग गरेको थियो ।
एसोसिएसनका अध्यक्ष नवीन यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत हजारौं चेलीलाई चोट परेको छ, वास्तविकता नबुझी मनगढन्ते तरिकाले आएका प्रसार्इँका अभिव्यक्तिप्रति आपत्ति प्रटक गर्दै सम्बन्धित निकायको ध्यानाकार्षण गराइएको छ।
त्यसैगरी वर्ल्डवाइड नेप्लिज स्टुडेन्ड अर्गनाइजेसन बंगलादेशले पनि प्रसार्इंको अभिव्यक्तिले उनीहरूको परिवारको मानसिकतामा मात्र असर पर्ने नभर्इ त्यहाँ गएका नेपाली चेलीहरूको चरित्रमै असर पुग्ने अभिव्यक्ति असहय्य भएको भन्दै तत्काल कानूनबमोजिम कारवाही गर्न माग गरेको थियो ।
मेडिकल सञ्चालक प्रसाईंले केही समय पहिले सार्वजनिक रूपमा भनेका थिए, 'बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली केटीहरू नौ वर्षसम्म बस्छन्, त्यहाँ उनीहरू लुटिन्छन्, प्रोफेसरहरूले करणी गरेर राखेका हुन्छन्।' अनशनरत डा.गोविन्द केसी पनि बंगलादेशमा अनशन बसेर एमबीबीएस पास भएका हुन्जस्ता विवादस्पद अभिव्यक्ति दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४