सन् २०२२ को प्रतिष्ठित ओस्कर अवार्ड वितरण समारोहमा हलिउडका बहुचर्चित नायक विल स्मिथले हास्यकलाकार क्रिस रकमाथि मञ्चमै हात हाले।
‘बेस्ट डकुमेन्ट्री’ विधाको ‘एकेडेमी’ पुरस्कार घोषणा गर्ने क्रममा रकले विलकी श्रीमती जेडा पिंकेट स्मिथको रोगबारे मजाक उडाएपछि विल हातपातमा उत्रिएका हुन्।
जेडाको रोगबारे क्रिसले मजाक उडाएपछि विल आफू बसिरहेको स्थानबाट उठेर मञ्चमा गई क्रिसलाई एक थप्पड हानेका थिए। त्यसपछि, फर्केर आफ्नै ठाउँमा बसेपछि क्रिसलाई विलले गालीसमेत गरेका थिए।
कार्यक्रम डल्बी थिएटरबाट टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भइरहेको थियो। सो घटनालाई लिएर थुप्रै टिप्पणी तथा आलोचना आएका छन्।
जेडालाई लागेको रोग
हलिउडका प्रसिद्ध कलाकार विल स्मिथकी श्रीमतीलाई ‘आलोपिसिया एरियाटा’ नामक रोग लागेको खुलासा जेडा आफैले सन् २०१८ मा गरेकी थिइन्। यो रोगले कपालका जरामा आक्रमण गर्दछ। जसका कारण रोगीहरुको कपाल विस्तारै झर्ने गर्दछ।

रोगको कारण पत्ता नलागे पनि वैज्ञानिकहरुका अनुसार यो रोग वंशाणुगत अथवा वातारणका कारण हुने समस्या हो।
आखिर के भएको थियो ओस्करको मञ्चमा?
सामान्य रुपमै चलिरहेको कार्यक्रमका माझ कार्यक्रम संचालक क्रिस रकले जेडाको रोगका विषयमा मजाक गर्दै भनेका थिए, 'जेडा, तिमीलाई माया गर्छु, 'जी आई जेन २' हेर्नका लागि निकै उत्सुक छु।' 'निकै राम्रो' भन्दै उनले आफ्नै चुट्किलाको तारिफ समेत गरेका थिए।
के हो 'जी आई जेन'?
जी आई जेन सन् १९९७ मा रिलिज भएको चलचित्र हो। जसमा डेमी मूरले जोर्डन ओ’निलको भूमिका निभाएकी छिन्। चलचित्रमा ओ’निलले नेभीका रुपमा आफ्नो शक्ति दर्शाउन कपाल खौरिएर 'जी आई जेन' बनेकी छन्। सोही पात्रलाई उद्धृत गर्दै रकले जेडाको खुइलिएको कपालबारे ठट्टा गरेका थिए।
रकको सो मजाकपश्चात आपत्तिजनक प्रतिक्रिया जनाउँदै विलले उनलाई मञ्चमै गएर थप्पड हानेका थिए। अनि आफ्नी श्रीमतीको नाम उनको मुखबाट नलिनसमेत चेतावनी दिएका थिए।
९४औँ एकेडेमी पुरस्कार समारोहको मञ्चमा ‘किङ रिचार्ड’ चलचित्रमा निभाएको भूमिकाका लागि सर्वोत्कृष्ट नायकको पुरस्कार पाएपछि नायक विल स्मिथले केही समय अगाडिको घटनाबारे सम्बोधन गर्दै माफी मागे।

हास्य कलाकार क्रिस रकले आफ्नी श्रीमतीको रोगका विषयमा मजाक गरेपछि मञ्चमै हात उठाउन पुगेको भन्दै त्यसमा माफी गर्न आग्रह गरेका थिए।
आफ्नो भावपूर्ण भाषणका दौरान विलले एकेडेमीलगायत अन्य रुँदै क्षमा मागेका थिए। उनले क्रिसको नाम भने लिएनन्।
विलको कार्यको व्यापक रुपमा निन्दा भइरहँदा उनका २३ वर्षीय छोरा जेडेन स्मिथले ट्विटमार्फत 'हामी त्यस्तै गर्छौं' भनेर आफ्ना बुवाको समर्थन गरेका छन्।