सोमबार रोल्पा नगरपालिकास्थित सातदोबाटो पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'जनयुद्ध स्मृति भ्यु टावर' उद्घाटन गरे। उक्त भ्यु टावरका विषयमा लगत्तै आलोचना सुरु भयो। भ्यू टावर आवश्यक नरहेको भन्दै धेरैले आलोचनात्मक टिप्पणी गरे।
भ्यु टावर उद्धाटनका लागि प्रचण्ड ४ वर्षपछि रोल्पा पुगेका थिए। २०७४ को प्रतिनिधि सभा चुनावको मिति घोषणा भएपछि रोल्पा पुगेका प्रचण्डलाई पुनः रोल्पा पुग्न अर्को स्थानीय तहको चुनाव घोषणा हुनुपर्यो। २०७४ भदौ १४ गते सरकारले मंसिर १० गते चुनाव गर्ने घोषणा गरेको थियो (भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले दुई मंसिर १० र मंसिर २१ गरी दुई चरणमा चुनाव गर्ने गरी मिति संशोधन गरेको थियो)। यसपछि प्रचण्ड ०७४ भदौ ३० गते थवाङको गाउँसभालाई सम्बोधन गर्न रोल्पा पुगेको थिए।
भ्यु टावर उद्धाटनका लागि आउने तर १० वर्षे सशस्त्र संघर्षका सहिद र घाइते परिवारका समस्या समाधानमा चासो नदिएको भन्दै सामाजिक सञ्जालमा प्रचण्डको आलोचना भइरहेको छ।
भ्यूटावरका विषयमा सामाजिक सञ्जालमा सुनुयोजित ढंगले नकारात्मक प्रचार मात्र गरिएको वडाध्यक्ष इन्द्रबहादुर थापाको दाबी छ। भ्यु टावर पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने उनको भनाइ छ।
रोल्पा नगरपालिकाका प्रमुख पुरण क्षेत्री भ्यु टावर उद्धाटनका लागि मात्र प्रचण्ड रोल्पा नआएको दाबी गर्छन्। रोल्पाको लिबाङमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्न रोल्पा पुगेका बेला भ्यु टावरको पनि उद्धाटन गरिएको उनको दाबी छ। ‘प्रचण्ड रोल्पा आइपुग्नु भएको अवसर पारेर भ्यू टावर उद्घाटन गरिएको हो,’ मेयर क्षेत्रीको दाबी छ।