आइतबार, जेठ ६, २०८१

सिटामोलको एमजी बढाउने निर्णय कति उपयुक्त?

स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका नीति योजना महाशाखा प्रमुख, औषधि व्यवस्था विभागका महानिर्देशक, औषधि उत्पादक संघका अध्यक्ष, नेपाल फर्मास्युटिकल एसोसिएसनका प्रतिनिधिलगायतको सहभागितामा भएको बैठकले गरेको निर्णय विवादित बनेको छ।
 |  मंगलबार, चैत १५, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, चैत १५, २०७८

काठमाडौं– गत बिहीबार औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको पारासिटामोल औषधि व्यवस्था विभागलाई दर्ता गर्न दिने निर्णय गर्‍यो। स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे, नेपाल फर्मास्युटिकल एसोसिएसनबाट ललितमोहन पन्त लगायतको सहभागितामा भएको बैठकले गरेको सो निर्णय विवादित बनेको छ।

triton college

सो निर्णयलाई नेपाल फर्मास्युटिकल एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले सिटामोलको मूल्यवृद्धि गर्ने बहानामा सिटामोलको एमजी बढाउन लागिएको भन्दै विरोध गरेको छ। अध्ययन र आवश्यकताबिना सिटामोलको मूल्य बढाउनका लागि एमजी बढाउन लागिएको उपभोक्ता अधिकारवादीदेखि चिकित्सकहरूको आरोप छ।

क्लिनिकल परीक्षणबिना ६५० एमजीको औषधि उत्पादन गर्न लागिएको भन्दै उनीहरुले विरोध जनाएका हुन्। एक पक्षले ६५० एमजीको सिटामोल आवश्यक भएको दाबी गरेको छ भने अर्को पक्षले जनस्वास्थ्यमाथि खेलबाड भएको बताइरहेको छ।

फर्मास्युटिकल एसोसिएसन, उपभोक्ता हित संरक्षण मञ्च, फार्मेसी संघले विज्ञप्ति जारी गर्दै व्यापारीहरुको योजना अनुसार पारासिटामोलको मूल्य बढाउने खेल भएको ठोकुवा गरेका छन्। यसअघि औषधि व्यवस्था विभाग आफैंले ५०० एमजीभन्दा माथिको सिटामोल उत्पादन तथा बिक्रीलाई अनुमति नदिने भने पनि पछिल्लो समय व्यापारीको योजनामा विभागले अनुमति दिने निर्णय गरेको विज्ञप्तिमा बताइएको छ।

अनुसन्धान र क्लिनिकल ट्रायलसमेत नभएकाले औषधि सल्लाहकार समितिको बैठकको निर्णय आफूहरुलाई मान्य नभएको संघका अध्यक्ष अमृत खनाल र मञ्चका केन्द्रीय सचिव हरिप्रसाद मैनालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै विभागका निर्णय र कामकारबाहीमाथि तत्काल छानबिन गर्न अनुरोध गरिएको छ।

corrent noodles
Metro Mart

‘पारासिटामोल ५०० मिलिग्रामको उपलब्धता सहज गर्न समयसापेक्ष मूल्य समायोजन नगरी बढी डोजको चक्की दर्ता गर्ने निर्णय गलत मनसायले गरेको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ। तर औषधि उत्पादक संघ यो कुरा स्विकार्न तयार छैन। औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेका अनुसार यूएसएफडीले ५० केजीभन्दा बढी तौल भएका मानिसलाई ६५० एमजीको औषधि प्रभावकारी हुने भनेको छ।

पाण्डेका अनुसार हाल ५०० एमजी, सोभन्दा तल र १००० एमजीको पनि सिटामोल उत्पादन हुन्छ। तर त्यसको बीचको छैन। ६५० एमजी डोज अन्तर्राष्ट्रिय रूपमै मान्यता प्राप्त छ त्यसैले पनि यो उत्पादन गर्नु आवश्यक छ। हाल ५०० एमजीको औषधिलाई विस्थापित गरेर ६५० एमजीको सिटामोल उत्पादन गर्न लागिएको भन्ने भ्रममा नपर्न उनको आग्रह छ। उनी भन्छन्, ‘हामीले ५०० एमजीको औषधि पनि उत्पादन गर्छौं र ६५० को पनि उत्पादन गर्छौं, ५०० एमजीको औषधि विस्थापित हुँदैन।’

स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका नीति योजना महाशाखा प्रमुख, औषधि व्यवस्था विभागका महानिर्देशक, औषधि उत्पादक संघका अध्यक्ष, नेपाल फर्मास्युटिकल एसोसिएसनका प्रतिनिधिलगायतको सहभागितामा भएको बैठकले गरेको निर्णय विवादित बनेको छ।

नेपाली बजारमा बालबालिकाको लागि पाँच एमएल बराबर १२५ एमजी हुनेगरी झोल पारासिटामोल, वयष्कका लागि ५०० एमजीको चक्की र गम्भीर अवस्थाका बिरामीका लागि सुइमार्फत दिइने १००० एमजीको सिटामोल बढी प्रयोग हुन्छन्।

औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी भन्छन्, ‘सिटामोलको मूल्य नेपालमा २०६४ सालयता बढेको छैन। मूल्य नबढेपछि बढाउनका लागि एमजीको बहाना बनाएको एक पक्षको तर्क छ, तर यो कदापि होइन। फार्माकोपिया अफ इन्डियाले पनि ६५० एमजीको सिटामोलका लागि वर्षौंअघि देखि मान्यता दिएको छ। अन्तर्राष्ट्रिय प्राक्टिस पनि छ। त्यसैले यसमा समस्या होइन। अहिले भइरहेको विरोध मूल्यको हो जस्तो देखिन्छ। किनकी १४ वर्षदेखि औषधिको मूल्य बढेको छैन, मूल्य समायोजन गर्नुपर्छ भनिरहँदा एमजी बढाउने सन्दर्भ आएकाले केही पक्षले यसको विरोध गरिहरेका हुन्।’

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल कोरोना महामारीको समयमा ५०० एमजीभन्दा बढीको सिटामोल चाहिएकाले पनि एमजी बढाउन आवश्यक रहेको बताउँछन्। चिकित्सक, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलगायत अन्य विज्ञहरूले पनि ६५० एमजीको सिटामोल आवश्यक देखिएको बताएका छन्। ६५० एमजीको उत्पादन भएपछि स्वाभाविक रुपमा मूल्य बढ्छ तर बजारमा पाइने सिटामोलको मूल्य प्रतिट्याब्लेट ४ रुपैयाँभन्दा बढी नहुने उत्पादक संघको तर्क छ।

अर्कोतर्फ औषधिको क्लिनिकल ट्रायल गरिएको छैन भन्ने जुन तर्क छ, त्यो तर्क स्वभाविक नभएको उत्पादक संघ बताउँछ। संघका अध्यक्ष पाण्डे भन्छन्, ‘हालसम्म नेपालमा कुन औषधिको क्लिनिकल ट्रायल भएको छ? कोभिडको कुनै पनि भ्याक्सिन ट्रायल भयो? यसअघिका औषधिहरु पनि अन्तर्राष्ट्रिय मान्यता अनुसार चलाइएका छन्। ६५० एमजीको औषधि पनि भारतमा क्लिनिकल ट्रायल भएर प्रतिशत सफल भएको छ।’

मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला पनि ६५० एमजीको औषधि उत्पादन गर्नुपर्छ भन्नेमा समर्थन जनाउँछन्। उनका अनुसार ६० केजीभन्दा बढी तौल भएको मानिसलाई ६५० एमजीको सिटामोल उपयुक्त हुन्छ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले ५०० एमजीको सिटामोल उत्पादन रोकेर ६५० एमजीको उत्पादन गर्न लागिएको नभई दुवै उत्पादन हुने स्पष्ट पारे। उनका अनुसार बजारमा ५०० एमजीको औषधि पनि उत्पादन हुन्छ र ६५० एमजीको पनि। महामारीको समयमा बढी एमजीको सिटामोल चाहिएकाले यो निर्णय भएको उनले बताए।

नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीका अनुसार नेपालीको ‘बडी मास इन्डेक्स’ अनुसार ६५० एमजीको सिटामोल उपयुक्त छ। उनले भने, ‘अहिले ५६० एमजीको औषधिले मिर्गौला, कलेजो खराब गर्छ भन्ने तर्कहरु पनि सुनिएको छ तर यो तर्क ठिक छैन। किनकी कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना खानु हुँदैन। मनलाग्दी रुपमा खाएको ५०० एमजीले पनि असर गर्न सक्छ। चिकित्सकले बिरामीको तौल अनुसारको औषधि खान सल्लाह दिन्छन्। तौलको विषयलाई लिएर विरोध गर्नुको कुनै तुक छैन।’

कार्कीले थपे, ‘कतिपय बिरामीलाई हामीले ५०० एमजीको सिटामोलले काम नगरेको समयमा एउटा र आधा खान सुझाव दिन्छौं। ६५० एमजीको औषधि आउँछ भने बिरामीलाई दिन सहज हुन्छ। तर यसको अर्थ सबै बिरामीलाई ६५० एमजीकै औषधि चाहिन्छ भन्ने होइन। बिरामीको आवश्यकता अनुसार चिकित्सकले सुझाव दिने हो। अब ६५० एमजीको औषधि पनि आवश्यक भइसकेको छ। मूल्य बढाउनकै लागि ६५० एमजी बनाउन लागिएको हो भनेमात्र गलत हो, तर चिकित्सकीय हिसाबले ६५० एमजी आवश्यक छ। हाल भइरहेको विरोध मूल्यको हो जस्तो लाग्छ।’ ६५० एमजीको औषधि बजारमा आइरहँदा ५०० एमजीको औषधि विस्थापित हुन नहुने कार्की बताउँछन्।

प्रकाशित: Mar 29, 2022| 08:29 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्