काठमाडौं-कांग्रेसनिकट कानून व्यवसायीहरूको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)को पश्चिम नवलपरासीको गैंडाकोटमा जारी १०औं महाधिवेशनमा नेतैपिच्छेका उम्मेदवार खडा भएका छन्।
डीएलए अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौलाका छुट्टाछुट्टै उम्मेदवार भएका छन्।
सभापति देउवा अर्थात् संस्थापन पक्षबाट दुई जना अध्यक्षको आकांक्षी छन्। नेता ज्ञानेन्द्रबहादुर कार्की निकटस्थ केदार कार्की र देउवानिकट रामकुमार श्रेष्ठले दाबेदारी नछाडेपछि संस्थापन पक्षमै रस्साकस्सी चलेको छ।
नेता पौडेल समूहबाट सीताराम केसी अध्यक्षका दाबेदार छन्। उनलाई डीएलएका पूर्वअध्यक्ष यदुनाथ खनालको समर्थन छ। महामन्त्री कोइराला र नेता सिटौला भने डीएलए काठमाडौंका पूर्वअध्यक्ष तथा सर्वोच्च अदालत डीएलएका पूर्वअध्यक्ष योगेन्द्र अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाउने निष्कर्षमा पुगेका छन्।
महामन्त्री कोइराला र सिटौलाले छुट्टै उम्मेदवार अध्यक्षमा उठाएको बताउँदै चिढिएका पौडेलले आफूले अगाडि सारेका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका छन्। तर, कोइराला र सिटौला आफ्नो अडानबाट पछाडि नहटेपछि पौडेलले रामकुमार श्रेष्ठ उम्मेदवार भए समर्थन गर्न सक्ने प्रस्ताव देउवालाई पठाएका छन्।
पौडेलले पठाएको प्रस्तावबमोजिम देउवा समूहले पनि श्रेष्ठलाई अध्यक्षमा अगाडि बढाउने सम्भावना रहेको डीएलए प्रतिनिधि तिलक पाण्डेले बताए। देउवा र पौडेल समूहले श्रेष्ठलाई अगाडि सारेमा श्रेष्ठ र अधिकारीबीच कडा टक्कर हुने देखिएको छ।
वरिष्ठ उपाध्यक्षमा पनि तीन वटा समूहबीच कडा टक्कर हुने देखिएको छ। वरिष्ठ उपाध्यक्ष एउटा पदमा देउवा समूहबाट अरुण पञ्जियार, पौडेल समूहबाट रामचन्द्र त्रिपाठी र कोइराला-सिटौला समूहबाट सुरेश पौडेल उम्मेदवार बनेका छन्। पञ्जियार उपसभापति विमलेन्द्र निधिनिकट हुन्।
महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा बराल निर्विरोध निर्वाचित भएकी छन्। उनी अध्यक्षका प्रत्यासी अधिकारीको प्यानलबाट उम्मेदवार बनेकी थिइन्। यस्तै, प्रदेश-१ बाट मुरारी खड्का र प्रदेश-२ बाट राजनप्रसाद दाहाल प्रदेश उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। दुवै जना कोइराला र सिटौला समूहका हुन्।
प्रदेश-३ बाट भने तुलसी बाँस्तोला, थम्मलाल शर्मा र राजु कटवाल उपाध्यक्षका उम्मेदवार छन् । प्रदेश-४ बाट उपाध्यक्षमा फणिन्द्रराज कोइराला र भूमिश्वर शर्मा गौतम प्रतिस्पर्धामा छन्।
प्रदेश-५ बाट उपाध्यक्षमा तीन वटै समूहबाट गोकर्णसिंह थापा, नन्दराम भण्डारी र रेशमराज गिरी प्रतिस्पर्धा गर्ने बताउँदै चुनावी प्रचारमा लागेका छन्। प्रदेश-६ बाट भने संस्थापन पक्षका खड्गबहादुर सिजापति उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। प्रदेश-७ मा उपाध्यक्षमा निर्वाचित बीरबहादुर जेठारा पनि देउवा निकटका हुन्।
यस्तै, एउटा महासचिवमा सात जना आकांक्षी छन्। त्यस पदमा कलमबहादुर खत्री, कृष्ण घिमिरे भूषण, विना श्रेष्ठ, भरतबहादुर रावत, रामकुमार न्यौपाने, लक्ष्मीदेवी दाहाल रावल र सर्वज्ञराज नायले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसैगरी, एउटा सचिव पदमा आठ जनाले उम्मेदवारी घोषणा गरेका छन्। । खड्गबहादुर बुढाथोकी, नवराज खतिवडा, भीमप्रसाद पौडेल, वसन्त रिमाल, रामजी कोङरेङ, श्यामलाल श्रेष्ठ, लोकेन्द्रध्वज खाँड र हुमबहादुर खत्रीले उम्मेदवारीको तयारी गरेका छन्।
सचिवमा उम्मेदवारी दिएका पौडेल र रिमाल नेता रामचन्द्र पौडेल निकटका हुन् भने खाँड र खत्री देउवानिकट कानून व्यवसायी हुन्।
महिला सचिवमा समेत तीन जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। जसअनुसार विष्णु बस्याल, लक्ष्मी थापा र सम्झना पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। एउटा कोषाध्यक्षमा आठ जना र ६ वटा खुल्ला केन्द्रीय सदस्यमा २२ जनाले उम्मेदवारी दिएर प्रचारमा लागेको महाधिवेशनस्थलबाट सञ्चारकर्मीसमेत रहेका कानून व्यवसायी बाबुराम अर्यालले नेपाल समयलाई जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४