काठमाडौं- व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहीनले जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई आज लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसवर्षको प्राथमिकतामा नै नरहेको भए पनि आफूले मन्त्रालय संहालेपछि गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाएको बताइन्।
मन्त्री श्रेष्ठले चार महिनाको अवधिमा गाउँब्लमा रहेका १९ हजार ६ सयभन्दाबढी भूमिविहीनलाई लालपुर्जा वितरण गरिसकिएको भन्दै अबको एकवर्ष भित्र सबै गाउँब्लकको समस्या समाधान गरिसक्ने गरी कामलाई तीव्र पारिएको बताइन्।
संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई इमानदार भएर लाग्न आग्रह गरिन्।
मन्त्री श्रेष्ठले यो वा त्यो पार्टी नभनी जनताको पक्षमा काम गर्ने सबैसँग हातेमालो गरेर अघि बढ्न आफू तयार रहेको भन्दै सही काम गर्नेलाई जनताले पनि चिन्न आवश्यक रहेको बताइन्।
मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन्।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवन इच्छाकामना गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, तनहुँको बन्दीपुर र चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई लालपुर्जा वितरण गरिसकेकी छन्।
२०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जा विहीन बनिरहेकाहरूलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ।